Skip to main content

धनगढीमा गौरा महोत्सव, विभिन्न व्यक्तित्वहरु सम्मानित

Submitted by editor on
ईबिगुल संवाददाता
saman

धनगढी : सुदूरपश्चिमको पहिचान झल्काउने १० औं सुदूरपश्चिम गौरा महोत्सव सोमबार धनगढीमा सुरु भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले एक समारोहका बीच गरेका हुन ।

डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरतबहादुर रावत (डोटेली कान्छा) को सभापतित्वमा सम्पन्न महोत्सव काली–कर्णाली क्षेत्रको मौलिक कला डेउडालाई देश–विदेशमा प्रचारप्रसार गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, भाषा–साहित्य, संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण गर्ने तथा युवा पुस्तालाई लोकसंस्कृतिमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको हो, प्रतिष्ठानका महासचिव तोयनाथ भट्टले जानकारी दिए । महोत्सवमा विभिन्न क्षेत्रका ९ जना व्यक्तित्वलाई सम्मान गरिएको छ ।

कला–संस्कृतितर्फ अछामका साहित्यकार पदमबहादुर धामी, स्वास्थ्य सेवातर्फ डा. मेराज आलम अन्सारी, शिक्षा सेवातिर जगन्नाथ जोशी, समाज सेवातर्फ  कल्पना भट्ट सम्मानित भएका छन् । त्यसैगरी चल्ले सैइ श्रुति सम्मान–खगेन्द्रराज अवस्थी (कैलाली), परिमल स्नेही समता सम्मान–कमला सिंह मुस्कान (दार्चुला), महाशंकर देवकोटा वाङ्मय सम्मान–बासुदेव पाण्डेय (डडेल्धुरा), हरिश्चन्द्र कडायत साधना सम्मान–सङ्गीता शाह (बाजुरा) र दलबहादुर बोगटी लोक प्रतिभा सम्मान–भीम अधिकारी (डोटी) लाई पनि सम्मान गरिएको हो ।

उद्घाटन समारोहमा गौरा नाच, धुमारी, चैत, शिव–पार्वती–गणेश झाँकी, रनपुतला डेउडा प्रस्तुति लगायत आकर्षक झाँकी प्रस्तुत गरिएका थिए । सोही अवसरमा वरिष्ठ डेउडा गायक केशवराज फुलाराको गीत विमोचन समेत गरिएको हो ।