धनगढी : पहिलो सन्तानको बुवा बनेको खुसी अझै ओसरिन नपाउँदै बझाङ दुर्गाथली गाउँपालिका–१ का भिम धामी सधैँका लागि बिदा भए । एक वर्षअघि विवाह गरेका उनलाई हालै मात्र पुत्र लाभ भएको थियो । काठमाडौंको कीर्तिपुरमा आफैं गाई पालन गरेर डेरी सञ्चालन गर्दै परिवारसँगै बस्दै आएका उनी भदौ २५ गतेको आन्दोलनमा गोली लागेर ढले ।
‘मंगलबार १९ जनाको मृत्यु भएको खबर सुनेर हामीले आन्दोलनमा नजान भनेका थियौँ,’ उनका भतिज प्रेम धामीले भने, ‘तर बुधबार बिहानै परिवर्तनका लागि भन्दै केही युवाहरूसँगै आन्दोलनतिर होमिनु भएको रहेछ । कालीमाटीमा गोली लागेर उहाँ ढल्नुभयो ।’ बुधबार दिउँसो नै मृत्यु भए पनि परिवारलाई भने बेलुकी मात्रै खबर भएको उनले सुनाए ।
भीमको निधनले धामी परिवार विक्षिप्त बनेको छ । एक वर्षअघि विवाह गरेकी श्रीमतीसहित परिवारका सदस्यहरू शोकमा छन् ।
करिब १० वर्षअघि उनी कोरिया जान तयारीमा थिए । सम्पूर्ण प्रक्रिया पूरा भइसकेको थियो । तर, दाजुले ‘देशमै केही गर्नुपर्छ’ भन्दै सल्लाह दिएपछि उनले कोरिया जाने योजना त्यागे । त्यसपछि गाई पालन सुरु गरेर शुद्ध दूध र परिकार बिक्री गर्ने डेरी व्यवसाय थाले । अर्का एक जना कोरिया जान लागेका युवालाई समेत रोकेर आफूसँगै राखेका थिए ।
बिहान सबेरै उठेर दूध संकलन गर्ने, ग्राहकलाई वितरण गर्ने अनि बेलुकी परिवारसँग समय बिताउने उनको दैनिकी थियो । उनले २३ वटा गाई पालेका थिए । परिवारका सदस्यसहित करिब ८–१० जना सोही व्यवसायमा संलग्न थिए । सधैं सबैलाई खुसी पार्ने भीम बुधबार भने सबैलाई रुवाएर बिदा भए ।
विदेशबाट आएको रकम र आफैंले लिएको ऋणसहित करिब ५० लाख रुपैयाँ लगानीमा उनले गाई पालन र डेरी सञ्चालन गरेका थिए । तर अझै करिब १० लाख रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी थियो । उद्यमी बनेको झन्डै १० वर्ष बिते पनि उनले सम्पूर्ण ऋण फिर्ता गर्न सकेका थिएनन् । ‘नेपालमै केही गर्नुपर्छ, देशमा समृद्धि र विकास ल्याउनुपर्छ भन्ने उहाँको अठोट थियो । विदेश नगई आफ्नै देशमा सुरु गरेको व्यवसाय राम्रै चलेकै थियो । तर, अझै परिवर्तनका लागि आवाज उठाउँदा ज्यान गुमाउनुप¥यो,’ उनका आफन्तले पीडा सुनाए ।
बुधबार प्राण गुमाएका भीमलाई शनिबार काठमाडौंस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो । यसअघि, सोही आन्दोलनको पहिलो दिन बझाङकै खप्तडछान्ना गाउँपालिका–७ का २३ वर्षीय सुवास बोहराले पनि जीवन गुमाएका थिए । दुई दिनमै बझाङका दुई युवा आन्दोलनमा ढलेपछि दुवै परिवार अहिले गहिरो शोकमा छन् ।