धनगढी : कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गै पारेर कुटपिट गरिएको दाबी गर्दै आत्महत्या गरेको भिडियो सार्वजनिक भएको छ । आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा उनले केही व्यक्तिको नाम लिँदै त्यस्तो गर्न बाध्य भएको बताएका थिए ।
‘मलाई सोसल अत्याचार भयो । म मर्दै छु । सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले अन्तिम सन्देशमा भनेका छन् ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट ग-यो । मलाई नाङ्गै बनाएर दौडायो गाइज ।’
फेसबुक लाइभमै रुँदै उनले सोही कारण आत्महत्या गर्नुपरेको बताएका थिए । मृतकका दिदी हिरा धानुकले पनि राति १०ः३० बजे भाइलाई ‘जेनजी’ भन्दै कुटपिट गरिएको बताइन् । ‘सुरुमा दारु पिलाएका रहेछन् । त्यसपछि नाङ्गो बनाएर कुटपिट गरे । त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले सञ्चारकर्मीलाई सुनाइन् ।
उनले शव नउठाउने चेतावनी दिँदै मृतकका सन्तानहरूको जिम्मेवारी स्थानीय तह वा मर्न बाध्य पार्ने व्यक्तिले लिनुपर्ने माग गरिन् ।
जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारी भइरहेको छ । ‘उहाँहरू भिडिओ लिएर आउनु भएको थियो । किटानी जाहेरी दर्ता गर्ने तयारी छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले भने, ‘घटनाको अनुसन्धान र छानबिन हुन्छ ।’