Skip to main content

पाँच महिनाको अवधीमा धनगढी उपमहानगरभीत्र ४८ किलोमिटर सडक ग्राभेल

Submitted by editor on
ईबिगुल संवाददाता
४८ किलोमिटर सडकमा ग्राभेल

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले असोज यताका ५ महिनामा ४८ किलोमिटर सडकमा ग्राभेल गरेको छ । खोलानाला खुलेपछि असोजको १४ गतेबाट उपमहानगरले १९ वटै वडा मध्ये १२ वटा वडाका सडकहरुमा ग्राभेलको काम सकेको हो ।

पाँच महिनाको अवधिमा एक करोड ६७ लाख २९ हजार रुपैयाँको ग्राभेल गरिएको उपमहानगरले जनाएको छ । उपमहानगर आफैले ग्राभेल गर्ने नीति अनुसार एक पटकसमेत ग्राभेल नगरिएका सडकहरूलाई प्रार्थमिकता दिईएको छ ।

धनगढी उपमहानगरपालिकाले दिएको तथ्यांक अनुसार वडा नम्बर ६ र ११ का सडकहरुमा ग्राभेल गर्ने काम जारी रहेको छ । धनगढी उपमहानगरपालिकाका वडा नम्बर ७, ८,९ र १० का सडकहरूमा मात्र ग्राभेलको काम बाँकी रहेको छ । उपमहानगरले चालु आर्थिक वर्षमा २ करोड ८० लाखको ग्राभेल गर्ने योजना रहेको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाको तथ्यांक अनुसार पाँच महिनामा तीन हजार तीन सय तीन ट्रिप टिप्पर ग्राभेल सडकमा हालिएको छ । अहिलेसम्म २५ हजार चार सय ९३ घनमिटर ग्राभेल धनगढी उपमहानगरपालिकाका कच्ची सडकहरूमा हालिएको हो । 

सडक ग्राभेल गर्न उपमहानगरपालिकाले ७ वटा ब्याको लोडर र ११ वटा टिप्परहरू प्रयोग गरेर ग्राभेलको काम गर्दै आएको छ । धनगढीमा सबै वडाहरूमा एक सय ६३ किलोमिटर सडकमा एक पटक पनि ग्राभेल नभएको फेला परेको थियो । ती सडकमा ग्राभेल गर्न १८ करोड बजेट आवश्यक पर्ने धनगढी उपमहानगरपालिकाको अनुमान छ ।