Skip to main content

बझाङ उपनिर्वाचन–निर्वाचन सामाग्री सहित कर्मचारी निर्वाचनस्थलतिर

Submitted by editor on
प्रताप ओली
मतदान स्थल तर्फ

बझाङ : बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ती पत्र र मतदान सामग्री सहित मतदान स्थल तर्फ पठाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीलाई निर्वाचन खर्च र सामग्री दिएर सुरक्षाकर्मीसहित मतदानस्थलतिर पठाएको हो । 

बझाङ १(१) मा आगामी वैशाख १५ गते उप निर्वाचन हुदैछ । उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । 
निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई संगठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले बताए ।

उप निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि  निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कुईकेलले बताए ।

बझाङ जिल्लाभरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई सरक्षाकर्मी सहित परिचालन गरिएको जनाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले साइपाल गाउँपालिका अन्र्तगतका ५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहति कर्मचारी र सुरक्षाकर्मी पठाई सकिएको भएपनि अन्य पालिकाका लागि भने आज अधिकृतसहति कर्मचारी र सुरक्षाकर्मी पठाएको बताए ।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाएको छ । उपनिर्वाचनका लागि बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।

मतदान केन्द्र अनुसार बझाङमा ६५१ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी खटाइएका हुन ।