Skip to main content

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने दुईजना प्रदेशसभा सदस्यलाई रेशम पक्षले कारवाही गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
कैलाश चौधरी र टीका थापा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारबाही गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका दुई जना प्रदेश सभा सदस्यलाई कारबाही गर्ने जनाएको हो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापालाई कारबाही गर्ने दलले जनाएको छ । मन्त्रीसमेत रहेका दुवै जनाले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत नदिनका लागि उन्मुक्तिले ह्विप जारी गरेको थियो ।

दलको ह्विपलाई अटेर गरेर विश्वासको मत दिएका दुवै जनालाई कारबाही गरिने मुख्य सचेतक खुशीराम डङ्गौरा थारुले बताए । उनले भने, ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिनु भएका दुवै माननीयलाई कारबाही हुन्छ ।’ मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सो पार्टी प्रदेश सभामा भने विभाजित भएको देखिएको थियो ।

विश्वासका मत दिएका दुवै जना प्रदेश सभा सदस्य सत्तापक्षको बेन्चमा र सरकारको विपक्षमा रहेका पाँच जना प्रदेश सभा सदस्य प्रतिपक्षको बेन्चमा बसेका थिए । उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दुवै सदस्य नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर हुन भने अहिलेको संसदीय दलका नेता, प्रमुख सचेतक रेशमको पक्षमा रहेका छन ।