Skip to main content

आठ वर्षपछि कैलालीमा अनेरास्ववियु जिल्ला अधिवेशन हुँदै, लोगो सार्वजनिक

Submitted by editor on
ईबिगुल संवाददाता
(अनेरास्ववियु)

धनगढी : नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीले १७ औं जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ । 

जेठ २८ गते बसेको जिल्ला कमिटीको बैठकले असार ७ र ८ गते कैलालीको सुखडमा अधिवेशन गर्ने निर्णय गरेसँगै अधिवेशनको तयारी थालिएको हो । ‘शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण र दलालीकरण विरुद्धको आन्दोलनमा हाम्रो जोड, संविधानले ग्यारेन्टी गरेको निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा हाम्रो अठोट’ भन्ने नाराका साथ शुक्रबार अनेरास्ववियु कैलालीले अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

कैलालीको सुखडमा पत्रकार सम्मेलन मार्फत एमाले कैलालीका सचिव ममता प्रसाद चौधरी, सचिवालय सदस्य खगेन्द्र ठकुल्ला, घोडाघोडी नगर कमिटीका अध्यक्ष हेम सापकोटा, नगर कमिटीका उपसचिव गगन कठायत लगायत नेताहरूको उपस्थितिमा लोगो सार्वजनिक गरिएको हो ।

असार ७ र ८ गते हुने अधिवेशनलाई सम्बोधन गर्न अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल लगायतका  नेताहरू आउने  कैलाली संयोजक कपिल सापकोटाले जानकारी दिए ।

उनका अनुसार करिब ३ सय प्रतिनिधिहरू र थप २ सय नेता कार्यकर्ता गरी अधिवेशनमा ५ सयको सहभागिता रहने छ। कैलालीमा ८ वर्षपछि अनेरास्ववियु जिल्लाको अधिवेशन हुन लागेको हो ।

१६ औँ जिल्ला अधिवेशन २०७३ पौष २२ गते लम्कीमा आयोजना भएको थियो । त्यसपछि हालसम्म जिल्ला अधिवेशन भएको थिएन । संयोजक सापकोटाले लामो समय पछि कैलालीमा जिल्ला अधिवेशन हुन लागेको र सबै तयारी भइरहेको जानकारी दिए ।