Skip to main content

सत्ता समिकरण फेरिने संकेत, स्थिरताका लागि काँग्रेस र एमाले सरकार बनाउदै

Submitted by editor on
उच्चस्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्न दुबै दल सहमति भएको बताइएको छ । उनीहरुबीच संसद्को बाँकी आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ ।
एजेन्सीहरुको सहयोगमा
सरकार परिवर्तनको कसरत

काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेस सरकार परिवर्तनको कसरतमा जुटेका छन । प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट सर्वत्र विरोध हुन थालेपछि एमाले र कांग्रेसका शीर्ष नेता सरकार परिवर्तनको कसरतमा जुटेका हुन् ।

संवादबाट टाढा रहेको नेपाली कांग्रेस पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरुसँग संवाद अगाडि बढाइरहेको छ । दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएपछि शीर्ष नेताको छलफल अगाडि बढेको हो। शनिबार र आइतबार पनि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । उनीहरुबीच सैद्धान्तिक रुपमा सहमति अगाडि बढिसकेको स्रोतको भनाई छ । 

यस अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कांग्रेससँग छलफल गरेको सुईंको पाएपछि एमाले नेताहरुपनि सक्रिय बनेका हुन् ।

स्रोतका अनुसार २÷४ दिन भित्रै सत्ता समिकरण फेरबदल हुनेछ । उच्चस्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्न दुबै दल सहमति भएको बताइएको छ । उनीहरुबीच संसद्को बाँकी आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ । केहि दिनभित्रै सानो मन्त्रिमण्डल बनाएर अगाडि बढ्न दुई दलभित्र गृहकार्य जारी रहेको छ । 

प्रचण्डले केहि दिन अगाडिसमेत सरकार परिवर्तनको संकेत गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको अभिव्यक्ति दिएपछि दुई दलबीच संवाद थप बढेको हो । ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो । तर  तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।’

कांग्रेसका एक पदाधिकारीले भने सरकार परिवर्तन गर्न दुवै दल एक मत भएपनि मोडालिटीको विषय टुंगो लगाउन बाँकी रहेको अन्नपूर्ण पोस्ट्लाई बताए।

‘राजनीतिक स्थिरता दिनका लागि मुख्य दुई दलबीचको सरकार जनताले हेर्न चाहेका छन् । जनतामा प्रणाली प्रति नै वितृष्णा जागिरहेकाले दुई ठूला दलले  सरकार चलाउनु आवश्यकता रहेको छ ।’उनले भने, ‘कसको नेतृत्वमा सरकार बन्ने र कुन मोडालिटीमा अगाडि बढ्ने भन्ने टुंगो लगाउन बाँकी रहेको छ ।’