धनगढी : कैलालीको धनगढीमा जेनजी मार्ग स्थापना हुने भएको छ । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले जेनजी मार्ग नामाकरणका लागि कार्यपालिकामा प्रस्ताव लैजाने बताएका छन् ।
धनगढीको पार्क चोक देखि सहिद गेट क्याम्पस रोड सडकलाई जेनजी मार्ग नाम राखिने मेयर हमालले बताएका हुन । ‘जेनजी आन्दोलनमा सहिद हुनु भएका सम्पूर्ण वीर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । तपाईँहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित नभई यो देशका प्रत्येक युवाको मुटुमा दीप बनेर जलिरहनेछ । न्याय, अधिकार र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने तपाईँहरूको साहस हामी सबैका लागि प्रेरणाको ज्योति बनेर सधैँ चम्किरहनेछ’, मेयर हमालले फेसबुकवालमा लेखेका छन् । ‘धनगढी –१ जोशी मेडिकल भएको चोक देखि पार्कमोड कबर्ड हल हुँदै सहिद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिका द्वारा महिला उद्यम बजार सञ्चालन गरेको क्षेत्र ) सम्म जेनजी मार्ग नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लाग्ने विषय सम्पूर्णलाई जानकारी गर्दछु । साथै त्यस सडक क्षेत्रलाई जेनजी मार्ग नाम प्रयोग गर्न हुन सम्पूर्ण नगरवासीमा अपील गर्दछौं ।’
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले मुलुकको सत्ता नै पल्टाईदिएको छ । जेनजी आन्दोलनका क्रममा देशभरबाट अहिले सम्म ७३ जनाको मृत्यु भईसकेको छ । सुदूरप्िरश्चमबाट मात्र ६ जना युवाले ज्यान गुमाएका छन् । जेनजी पुस्ताको आन्दोलनमा धेरैको समर्थन रहेको थियो । तर, केहि अराजक तत्वका कारण देशले ठूलो क्षति भोग्नु परेको छ ।