बैतडी : बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५ नौघरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । स्थानीय रौलेशवर मावि कक्षा १२ मा अध्ययनरत १७ वर्षीया अप्सरा चन्द सुर्नया नदीमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडा ५ का अध्यक्ष केशव बहादुर बिष्टले बताए ।
आज (बुधबार) बिहान चन्दको शव नदीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडुले जानकारी दिए ।
किशोरीको शव फेला परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनाको विस्तृत कारण अहिलेनै खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडुले जानकारी दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भइरहेको छ । कक्षा १२ मा अध्यनरत अप्सराको मृत्युपछि सिङ्गो गाउँनै शोकमा डुबेको छ ।