Skip to main content

धनगढीको ठेकराज माविमा ‘किताबबिहिन शुक्रवार’ कार्यक्रम लागु

Submitted by editor on
विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालिएको हो ।
ईबिगुल संवाददाता
ठेकराज माध्यमिक विद्यालय

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालयमा ‘किताब बिहिन शुक्रवार’ कार्यक्रम लागु भएको छ । मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीका लागि ‘किताब बिहिन शुक्रवार’ कार्यक्रम लागु भएको हो । 

विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालिएको हो । उपमहानगरपालिकाले काठमाडौंको गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग सहकार्य गरेर हरेक शुक्रवार अतिरिक्त सिप सिकाउन थालेको हो ।

‘शिक्षा सिपसँगै रोजगारी, हाम्रो जिम्मेवारी’ भन्ने अभियान अन्तर्गत गुरू ईन्स्टिच्युटले धनगढीसँग सहकार्य गरेर विद्यार्थीहरूलाई मोबाइल, ल्यापटप, डेस्कटप मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालेको गुरु ईन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इन्जिनियरिङका कार्यक्रम संयोजक इन्जिनियर रोशन श्रेष्ठले बताए । 

उनले विद्यार्थी विदेशिने क्रम रहेकाले विद्यार्थीहरूले सिप सिकेर स्वदेशमै  रोजगारी गर्न र स्वरोजगार बन्न सकुन भनेर कार्यक्रम लागु गरिएको बताए । ‘हामीले हरेक शुक्रवार विद्यार्थीहरूलाई मोबाइल र कम्प्युटर मर्मत तथा इलेक्ट्रोनिक उपकरण मर्मत सम्बन्धी सिप सिकाउँछौँ’ उनले भने । ‘जसले गर्दा उनीहरू घरमा बिग्रेको समान मर्मत गर्न सक्नेछन् भने मोबाइल, कम्प्युटर पंखा र हाउस वायरिङ गरेर पढ्दापढ्दै आय–आर्जनसमेत गर्न सक्नेछन् ।’

धनगढीका अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार हुने
धनगढी उपमहानगरपालिकाले तालिम सफल र प्रभावकारी देखिए अर्को वर्षदेखि धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत लागु हुने जनाएको छ । 
यो वर्ष ठेकराज माध्यमिक विद्यालयका  कक्षा ७ देखि १२ सम्मका ३० जना विद्यार्थीलाई तालिम दिन थालिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए । उनले हरेक शुक्रवार ४ घण्टाका दरले एक वर्षसम्म विद्यार्थीहरूलाई तालिम दिइने बताए ।

ठेजराज माविमा कार्यक्रम सफल भए धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत औपचारिक शिक्षासँगै सिप प्रदान गरेर विद्यालयबाट सिपयुक्त जनशक्ति निर्माण गर्ने योजना उपमहानगरको रहेको महाशाखा प्रमुख बडायकले बताए ।