सेती नदीको धौलाबगर डुंग्रीघाटमा अन्तेष्टी
बझाङः सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंह र उनकी धर्मपत्नी अमृता देबी सिहको शनिबार सेती नदीको धौलाबगर डुंग्रीघाटमा अन्तेष्टी गरिएके छ ।
गत मंगलबार दुर्घटनामा परेर ज्यान गुमाएका दुबै जनाको पार्थिव शरिर देश बाहिर रहेका छोराका लागि जिल्ला अस्पतालमा राखिएको थियो । मन्त्री सिंह दम्पत्तीको पार्थिव शरिरलाई शनिबार जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर अपरान्त अन्तिम संस्कार गरिएको हो ।
मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि अन्त्येष्टि गरिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्कजंगबहादुर सिंहले बताए ।
डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
जीप केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो ।
उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिहको शव मंगलबार राती नै धनगढी ल्याएर बुधबार धनगढी रंगशालामा श्रद्धाञ्जली अर्पण पश्चात हेलिकप्टर मार्फत् गृह जिल्ला बझाङ ल्याइएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लागि कोहलपुरबाट काठमाडौं लगिएको छ ।