धनगढी : कैलालीको फूलबारीमा प्रदेशकै नमुना एवं ठुलो गुम्बा निर्माण गरिँदै छ । धनगढी उपमहानगरपालिका–१४ मा दोर्जे टाँसी छोलिङ गुम्बा बनाउन लागिएको हो । फूलबारी क्षेत्रमा धेरै बौद्ध धर्मावलम्बीको बसोबास रहेको छ । फूलबारीस्थित एच गाउँमा २०४६ सालमै सानो दोर्जे टाँसी छोलिङ गुम्बा निर्माण भए पनि त्यो अत्यन्त पुरानो र जीर्ण भएकाले त्यही नाउँमा ठुलो गुम्बा निर्माण गरिरहेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गोलेले बताए ।
उनले करिब ६० लाख रुपियाँ लगानीमा निर्माण भइरहेको दुईतले गुम्बामा केही राज्यको र अधिकांश स्थानीयकै लगानी रहेको पनि बताए । उनले भने, “हामीले गाउँ र देशविदेशबाट चन्दा सङ्कलन गरेर प्रदेशकै नमुना गुम्बा बनाइरहेका छौँ । गुम्बा निर्माण र त्यसमा कलात्मक बुट्टा, चित्र बनाउने कार्य पनि यहाँका स्थानीय युवाले गरिरहेका छन् ।”
उनका अनुसार गुम्बा पुनर्निर्माणका लागि धनगढी उपमहानगरपालिकाले नौ लाख रुपियाँ बजेट सहयोग गरेको छ । यसै गरी एक लाख रुपियाँ उपभोक्ता समितिले बेहोर्ने गरी हाल कुल १० लाख रुपियाँ लगानीमा पुनर्निर्माणको काम भइरहेको छ । यसअघि पूर्वप्रतिनिधि सभा सदस्य पुस्करनाथ ओझाको सांसद विकास कोषबाट करिब नौ लाख रुपियाँ उपलब्ध भएपछि भुइँतला निर्माणको काम गरिएको थियो ।
सरकारबाट प्राप्त बजेट र धेरै जसो चन्दा सङ्कलनबाट उठेको रकम लगानी गरेर गुम्बा निर्माणलाई अन्तिममा पुर्याएको अध्यक्ष गोलेले बताए। गुम्बाको भुइँतलालाई सभाहलका रूपमा प्रयोग गर्ने जनाइएको छ । यसै गरी माथिल्लो तलालाई पूजा स्थल बनाइएको छ । पूजा स्थलमा बौद्धमार्गीका सांस्कृतिक कुरा लेख्नुका साथै चित्र बनाइएका छन् । यस्ता कलात्मक चित्र बनाउँदा पूजा स्थल राम्रो देखिने गरेको गुम्बाका लामा थोप्पा लामाले बताए । यो गुम्बामा फूलबारी क्षेत्रभरिकै बौद्धमार्गी आउने गरेको उनको भनाइ छ ।