Skip to main content

आपुर्तीमन्त्री भण्डारी भन्छन, ‘सरकारले ल्याएका अध्यादेशको विरोध गर्नुको कुनै तुक छैन’

Submitted by editor on
धनगढीमा आयोजना हुने सीप तथा रोजगार मेलामा ११ सय जना युवाहरुले विभिन्न २९ विधाको एक महिने तालिम लिनेछन । तालिम पश्चात उनीहरुको सीम परिक्षण गरी रोजगारदाताकै उपस्थितिमा रोजगारीको ग्यारेन्टी गरिनेछ ।
शिवराज भट्ट
दामोदर भण्डारी

धनगढी : उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीले देशको समृद्धीका लागि बाधक देखिएका नियमहरु परिवर्तन गर्न ल्याइएका अध्यादेशहरुको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन । 

धनगढ उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाको विहीबार धनगढीमा उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । ‘विकास निर्माणका लागि पुराना ऐनहरु छन । ती ऐनहरुले गर्दा काम गर्न चाहने निकायले समयमा काम गर्न पाएको छैन । काम नै गर्न नपाएका कारण समयमा बजेट कायान्वयन हुदैन, अनी जनताले विकासको अनभूती गर्न पाएका छैनन’ उनले भने ।

‘विकास निर्माणका बाधक ऐनहरु परिवर्तनका लागि ल्याइएका अध्यादेशको अहिले विरोध भईरहेको छ । छिटो छरितो काम गर्न, भ्रष्टाचार नियन्त्रण गरेर शुसासन कायम गर्नका लागि अध्यादेशहरु ल्याइएका छन, हामीले कुनै दल फुटाउन अध्यादेश ल्याएका छैनौं, तर पनि समृद्धीका लागि गरिएका प्रयासको पनि विरोध किन?’ उनले प्रश्न गरे ।

मन्त्री भण्डारीले देशमै रोजगार र स्वरोजगारीका लागि एक मात्र स्थानीय तहले यस्तो तालिम सञ्चालन गरेर मात्र नपुग्ने बताए । उनले भने, ‘अबको युग भनेको दक्ष जनशक्ति उत्पादनको युग हो । कुनै एउटा स्थानीय तहले मात्र तालिम लिएर पुग्दैन, अब संघीय सरकारले यस्ता तालिमहरुको एकीकृत रुपमा मन्त्रालय नै खडा गरेर गर्नुपर्छ, यसमा मेरो मन्त्रालयले पहल गर्छ’ उनले भने ।

धनगढीमा आयोजना हुने सीप तथा रोजगार मेलामा ११ सय जना युवाहरुले विभिन्न २९ विधाको एक महिने तालिम लिनेछन । तालिम पश्चात उनीहरुको सीम परिक्षण गरी रोजगारदाताकै उपस्थितिमा रोजगारीको ग्यारेन्टी गरिनेछ । 

मन्त्री भण्डारीले भने, ‘अब देश बाहिर जाने जनशक्ति पनि सीपयुक्त बनाएर पठाउनुपर्छ । त्यसका लागि संघीय सरकारले नै सीपमूलक जनशक्ति उत्पादनका लागि तयारी गर्नुपर्छ ।’

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमको प्राविधिक सहयोगमा हुने मेलामा प्रदेशका ९ वटै जिल्लाका ३९ स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न विधामा तालिम प्रदान गरिनेछ ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

३० दिन विभिन्न विधामा सीपमुलक तालिम, ५ दिनसम्म जीवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने  २ दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबिच अन्तक्रिया गरिने उपमहानगरपालिकाले जनाएको छ ।

मेलामा अटोमोबाईल,निर्माण, आथित्य÷सत्कार, इलेक्ट्रिकल र मेकानिकल, सूचना प्रविधि,  शैक्षिक, स्वास्थ तथा सौन्दर्य, आर्ट एण्ड क्राफ्ट डिजाइनिङ विधामा सीप सिकाइनेछ ।