अत्तरिया । एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा गरिएको सडकको कालोपत्रे एक महिना नपुग्दै विभिन्न ठाउँमा उप्किएको थियो ।
गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित लालपुर र ८ स्थित स्याउलेमा गत असारमा गरिएको कालोपत्रे उप्किएको थियोे । ती ठाउँहरुमा निर्माण कम्पनीले कालोपत्रे उप्किँदा दुई ठाउँमा गरी करिब ४ सय मिटर उक्त सडकमा खाल्डाखुल्डी बनेका छन् ।
उप्किएको भागमा निर्माण कम्पनीले फेरि टालटुल गरिरहेको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईले कालोपत्रे उप्किएको ठाउँमा निर्माण कम्पनीले मर्मत गरिरहेको बताए । खाल्डा टालेर माथिबाट ओभर ले गर्ने गरी काम भइरहेको उनले बताए ।
अत्तरियादेखि पहलमानपुरसम्म विभिन्न खण्डमा दुई हजार तीन सय मिटर कालोपत्रे गर्न मूल्य अभिवृद्धि करसहित २ करोड ८४ लाखमा असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जोशी श्रीपुर जेभीले गत मङ्सिरमा ठेक्का पाएको थियो ।