धनगढी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वर्ण प्राशन मौलिक उपचार विधि भएको बताएका छन् । बिहीबार प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा राष्ट्रिय स्वर्ण प्राशन सुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘स्वर्ण प्राशन मौलिक विधि हो । हामीले विकल्प नहुँदा यसैलाई प्रयोग गरेर हामी स्वस्थ भएका थियौँ ।’ उनले भने ‘आयुर्वेद उपचार पद्दतिमा हाम्रो विश्वास छैन् । यसमा विश्वास बढाउन हामीले खोजेका हौँ । आयुर्वेद उपचार हाम्रो मौलिक परम्परा पनि हो ।’ मन्त्री पौडेलले धेरै बालबालिका लाभान्वित गराउने उदेश्यले उपत्यका बाहिर यो कार्यक्रमको सुभारम्भ गरिएको उनले बताए । उनले भने ‘हामीले हाम्रा कुरामाथि विश्वास नगरेका कारण अहिले हामी कुनै पनि कुरामा आत्मनिर्भर छैनौँ । हाम्रो आफ्नै पनि विश्वास छैन् । त्यसैले यो विश्वास जगाउनका निम्ति गरिएको हो ।’
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्वस्थ बालकले मात्रै आफ्नो उज्जल भविष्य निर्माण गर्न सक्ने बताए । उनले भने ‘स्वस्थ नागरिक मात्रै सक्षम नागरिक हुन सक्छ । सक्षम नागरिक मात्रै आफू,आफ्नो परिवार,समाज र राष्ट्रका लागि योगदान दिन सक्छ ।’
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले सुदूरपश्चिमका जनता स्वस्थ्यको कारणले पनि गरिवीको रेखामुनि परिरहेको बताए । उनले भने ‘औषधी उपचारमा धेरै खर्च हुने गरेको छ । जसले गर्दा गरिबीको रेखाभन्दा माथि भएका नागरिक पनि गरिबीको रेखामुनि परिरहेका छन् ।’
उनले पछिल्लो समय सुदूरपश्चिममा गरिबी बढ्दै गएको बताए । उनले यसमा सबै तहका सरकारले ध्यान दिन आवश्यक भएको बताउँदै उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।