धनगढी : कैलालीका युवाहरुले राजजीतिक दल भन्दा अलग रहेर देश बनाउन भन्दै स्वतन्त्र अभियान सुरु गरेको घोषणा गरेका छन । विभिन्न दलमा आवद्ध युवाहरुले राजननीतिक दलका कार्यकर्ताबाट अलग भई स्वतन्त्र अभियान संचालन गरेको घोषणा गरेका हुन् ।
कैलालीको गोदावरी नगरपालिकाका बासिन्दा प्रेमराज भट्टको संयोजकत्वमा स्वतन्त्र अभियान संचालन गरिएको बिहिवार धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो । उनी केही महिना अघि सम्म नेपाली काँग्रेस कैलालीको प्रवक्ता थिए ।
पत्रकार सम्मेलनमा अभियानका संयोजक प्रेमराज भट्टले अभियान कसैका विरुद्द वा समर्थनमा नभई सकारात्मक सोच र आत्मनिर्भर युवाहरुको देश बनाउन अभियान थालिने बताए । उनले दलका कार्यकर्ताबाट माथि उठेर स्वतन्त्र अभियानको सुरुवात गरिएको जानकारी दिए ।
संयोजक भट्टले देशमा भ्रष्टाचार संस्थागत भएको, आर्थिक स्थिति डरलाग्दो बन्दै गएको बैदेशिक समन्ध विग्रदो अवस्थामा रहेको उल्लेख गरे । यति धेरै समस्या बढ्दा पनि अहिलेका दलहरु वेवास्ता गरेका कारण अभियान संचालन गर्नुपरेको संयोजक भट्टको भनाई छ ।
भदौ १७ गते कंचनपुरको गड्डा चौकीबाट धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको प्रमुख आथित्यतामा अभियानको उद्घाटन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । मेयर हमाल पनि स्वतन्त्र हुन । कुनै दल र संगठन संग आबद्द नभई स्वतन्त्र रुपमा देश विकासका लागि अभियान महाकाली देखि मेची सम्म पार्टीको झण्डा छोडेर देशको झण्डा बोक्ने अभियानमा समर्थन रहेको जनाएको युवाहरु बताउँछन ।
यो अभियानका क्रममा ठाउँ ठाउँमा कोण सभा अन्तरक्रिया गरिने संयोजक भट्टले बताए । अभियानकै क्रममा धरान पुगेर त्यहाँका स्वतन्त्र मेयर हर्क सापाङले पहिलो चरणको अभियान समापन गर्ने संयोजक भट्टले जनाएका छन् । अभियान सफल पार्नका लागि युवाहरुले स्वस्फुर्त रुपमा रकम संकलन गरेर अगाडि बढेको जनाएका छन् ।
अभियानमा भट्ट संगै भरत शाह, राजन खड्का, गणेश शाह, धनबहादुर बोगटी लगायत रहेका छन । यी पनि यश अघि विभिन्न दलसंग आबद्द युवाहरु हुन ।