Skip to main content

साथिको जन्मदिन मनाउन गएका दुई जुम्ल्याहासहित चार किशोर खुटियामा विलाए

Submitted by editor on
ईबिगुल संवाददाता
 डुबेर मृत्यु

धनगढी : कैलालीमा साथिको जन्मदिन मनाउन गएका चार किशोरको खुटिया खोलामा डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजे खुटिया खोलामा चार किशोर डुबेर बेपत्ता भएको खबर आयो ।
इलाका प्रहरी कार्यालय मालाखेती, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुग्यो । शेहरी पुल नजिकै वारीपट्टी नदी छेउमा किशोरहरूका लुगा थिए भने पारीपट्टी तीन किशोर अर्धनग्न अवस्थामा थिए ।
अर्धनग्न अवस्थामा भेटिनेमा धनगढीका नवील बुडाल, युवराज कुँवर र प्रकाश मल्ल थिए । उनीहरूसँगै गएका धनगढीको तारानगरका १७ का सक्षम जोशी, जाइका १७ वर्षीय प्रतीक चौधरी, उत्तरबेहडीका १७ वर्षका जेव भण्डारी र जादेज भण्डारी भने नदीमा बेपत्ता थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दकाअनुसार उनीहरू मध्ये भण्डारी भने जुम्ल्याहा दाजुभाइ हुन् । उनीहरूको शव डुबेको स्थान नजिकै फेला परेको थियो । प्रहरीकाअनुसार मृतकहरू साथीको जन्म दिन मनाउन भन्दै घरबाट निस्किएका थिए ।

तर, कसको जन्म दिन थियो भन्ने कुरा भने खुलेको छैन् । डीएसपी चन्दकाअनुसार वारीपट्टी कपडा राखेर पारी तरेर साथमा लगेको खानेकुरा खाएर फर्किने क्रममा चार जना नदीमा डुबेका थिए ।
“सातै जना साथमा लगेको खानेकुरा खाइसकेपछि वारी कपडा राखेको स्थानतर्फ फर्किने क्रममा डुबेको देखिन्छन्,” चन्दले भने,” एक जना डुबेपछि बचाउन खोज्न अन्य तीनको पनि ज्यान गयो । तीन जना भने पारीतर्फै रोकिएछन् ।” मृतक मध्ये तीन जना धनगढीकै बालमिकी इन्टरनेशल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा ११ कक्षामा अध्ययनरत थिए ।
नदीमा डुबेर मृत्युु भएका चारै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।