धनगढी : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
आज दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्ने प्रचलन छ । यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
ऋषिपञ्चमीको कैलालीको गोदावरी धाममा पुजा गर्नेहरुको भिड रहेको छ । धाममा कैलाली र कञ्चनपुरहरुको बर्तालु महिलाहरुको भिड लागेको थियो ।
बिहान देखि बर्तालुहरुले गोदावरी नदीमा नुहाएर पुँजा गरेका हुन । गोदावरीको शिवमन्दिर, कैबल्यनाथ, कुम्भबाटिका लगायतका ठाउँहरुमा स्थानीय भक्तजनहरुको भिड पनि त्यतिकै रहेको छ । विशेषगरी महिलाहरुले सजिएर मनपर्ने रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर ऋषिपञ्चमी पूजा तथा आराधना गरेका छन । गोदावरी धामको नदी नै राताम्मे भएको थियो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।