कञ्चनपुरः कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ।
यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरुसँगै राखेर पढाइन्छ। शारीरिक रूपमा अशक्त बालबालिका शिक्षाबाट वञ्जित नहोऊन् भन्ने उद्देश्यले अन्य विद्यार्थीसँगै कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरिएको पूर्णिमा आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर वडायकले जानकारी दिए। उनका अनुसार यस वर्ष मात्रै विद्यालयले चार जना अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ।
बालविकास कक्षामा अपाङ्गता भएका बालबालिकालाई पठनपाठनका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षकको व्यवस्था गरिएको छ। “हामीले वडामा रहेका अपाङ्गता भएका बालबालिकाको पत्ता लगाएर विद्यालयमा भर्ना गर्न लगाायौँ प्रधानाध्यापक वडायकले भने,अरूलाई देखेर पनि बालबालिकाको मनोबल बढ्छ कि भनेर हामीले विद्यालयमा भर्ना गरेका हौँ।
विद्यालय भर्ना भएपछि बालबालिकामा सुधार आइरहेको उनको भनाइ छ। कक्षा ५ मा एक जना बच्चा देख्न र बोल्न सक्दैनन्, तर पनि हामीले पढाइमा लगाव बढाउन उत्प्रेरित गरिरहेका छौँ, , वडायकले भने। अपाङ्गता भएकै कारण घरको कोठाबाट बाहिर आउन नसक्ने लालझाडी गाउँपालिका–३ बल्मीका मयन्क राना हाल कक्षा कोठामा अन्य विद्यार्थीसँगै पढाइ गर्छन्। मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पनासमेत गरेकी थिएन आमा श्रीमति रानाले भनिन्,हाल छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ। विद्यालयमा ल्याउने लिने काम म आफैँले गरिरहेकी छु ।