Skip to main content

कैलालीमा लाईटर बोकेका ट्रकहरुमा भएको आगलागीबाट सवा दुुई करोडको क्षती

Submitted by editor on
ईबिगुल संवाददाता
 सवा दुुई करोडको क्षती


धनगढी : कैलालीमा गुड्दागुड्दै दुईवटा ट्रकमा आगलागी हुँदा दुई करोड २८ लाखभन्दा बढीको क्षति भएको छ । सोमबार कर्णाली पुलमा र शनिबार बर्दगोरिया गाउँपालिका–१ मुडामा लाइटर, औषधि, खुर्सानी, बच्चाको डाईपर बोकेका ट्रकमा आगलागी भएको थियो । 

दुबै आगलागीका घटनाबाट दुई करोड २८ लाख ६१ हजार मूल्य बराबरको सामग्री जलेको अनुमान गरिएको छ । कर्णाली पुलमा ट्रक जलेर नष्ट भएको छ भने मुडामा आगलागी हुँदा औषधि, खुर्सानी, लाइटर र बच्चाको प्याड आंशिक रुपमा क्षति पुगेको छ भने ट्रकको अगाडीको भाग जलेर नोक्सानी भएको छ ।

वीरगञ्जबाट धनगढी आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले बताए । लाइटरसहित खुर्सानी बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ ।

शनिबार दिउँसो ३ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मुडा बजार नजिक आगो लागेको थियो । घोडाघोडी र लम्की चुहा नगरपालिकाको दमकल चाँडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी हुँदा ट्रकभित्र रहेका विभिन्न औषधि, खुर्सानी, लाइटर जलेर करिब एक करोड १२ लाख ९३ हजार ९१ रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ ।

कर्णाली पुलमा ट्रकमा लागेको आगलागीबाट एक करोड १५ लाख ६८ हजार बराबरको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ ।