Skip to main content

राजीनामा दिँदादिदै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशका अधिकार संघले कब्जामा राखेको छ’

Submitted by editor on
ईबिगुल संवाददाता
राजीनामा दिदादिदै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशका अधिकार संघले कब्जामा राखेको छ’

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशका अधिकार संघले कब्जामा राखेको गुनासो गरेका छन । विश्वासको मत पाउने सम्भावना नरहेपछि प्रदेश प्रमुख नजीर मीयालाई राजीनामा बुझाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो गुनासो गरेका हुन ।

‘म संघीय सरकारलाई के अग्रह गर्न चाहन्छु भने संघीय संरचना बलियो बनाउने हो भने, प्रदेश संरचना मजबुद बनाउने हो भने वा प्रदेश प्रति जनताको विश्वासको वातावरण बनाउने हो भने संघ सरकारले प्रदेशका अधिकार कब्जामा नराखोस’ उनले भने ।

उनले मुख्यमन्त्री जो सुकै भएपनि संघले प्रदेश अधिकार कब्जामा राख्ने हो भने प्रदेश बलियो नहुने बताए । ‘प्रदेशका अधिकार संघले कब्जामा राखेकाले प्रदेश बलियो हुन सकेको छैन’ उनले भने । 

मुख्यमन्त्री शाहले आफ्नो एक वर्ष २ महिनाको कार्यकाल सफल रहेको दाबी गरे । ‘गर्नुपर्ने त धेरै थियो तर समय कम भयो, तर पनि राम्रा र केही सम्झिन लायकका काम गरेको छु । सुशासनका लागि सकेसम्मको प्रयास गरे । राम्रो भयो वा भएन, तपाईहरुले मुल्यांकन गर्ने हो’ उनले भने ।