Skip to main content

यसरी हुन्छ धनगढीमा रातारात तस्करी, सशस्त्रले पक्राउ गरेको सामान कसको थियो ?

Submitted by editor on
शिवराज भट्ट
यसरी हुन्छ धनगढीमा रातारात तस्करी, सशस्त्रले पक्राउ गरेको सामान कसको थियो ?

धनगढी : शुक्रबार सशस्त्र प्रहरीलाई एकजनाको सूचना आयो, बसपार्क पछाडिको एउटा गोदाममा करोडौंको तस्करीका सामान भण्डारण गरिएको छ भनेर । सशस्त्र प्रहरी बल, नेपाल नम्बर गण हेडक्वार्टर धनगढीका एसपी दल बहादुर पाण्डे आफै त्यो अप्रेशनमा खटिए ।

बसपार्क पछाडिको लाकेशनमा गोदाम भेटियो । त्यस गोदामबाट सशस्त्र प्रहरीले ५३ लाख १८ हजार बराबरको २३ पोका भन्सार छलेर ल्याएको सामान पक्राउ ग¥यो । प्रहरीलाई त्यो गोदाम खोल्दा, मुचुल्का बनाउदा झण्डै ३ घण्टा लागेको थियो । तर त्यतीबेला सम्म सामान कसको हो भन्ने कुरा खुलेन । कुनै ब्यापारी त्यो सामान मेरो हो भनेर भन्न पनि आएन ।

प्रहरीले घटना मुचुल्का बनायो । सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट त्रीनगरका डिएसपी बिल बहादुर फौजुपनि घटनास्थल बोलाईए । धनगढीमा हुने तस्करी नियन्त्रणको मुख्य काम सशस्त्र प्रहरीको हो । सरकारले सशस्त्र प्रहरीलाई तस्करी नियन्त्रणको म्यान्डेड नै दिएर सीमामा खटाएको छ ।

सीमा नाकाहरुमा को तस्कर हो ? कसले तस्करी गर्छ ? कतिबेला तस्करीको सामान सीमापार गरिन्छ ? यी कुरा सीमामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थाहा नहुने कुरै भएन । सीमा कटाएर २३ पोका सामान सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई थाहै नभएर धनगढीमा पक्राउ पर्छ भने त्यो तस्करी नियन्त्रणको जिम्मा पाएको निकायमाथि प्रश्न उठन सक्छ ।

कसको थियो त सामान ?
सामान कसको थियो ? सशस्त्र प्रहरीले बेवारिसे भनेर त्रीनरगर भन्सारलाई सामान बुझाएको छ । तर उक्त सामान धनगढी लामो समयदेखि तस्करी गरिरहेका बालाजी फैन्सी स्टोरका सञ्चालक अंकुश गुप्ताको रहेको खुलेको छ । गुप्ताले बरामद भएका २३ पोका मध्ये १३ पोकाको सामान आफ्नो भएको दाबी गरेका छन । उनले १३ पोका सामान आफ्नो भएको भन्दै केहीको भन्सार काटेको, केही पोका नेपालबाटै किनेको भन्दै भन्सार कार्यालयमा विल पेस गरेका छन ।

‘त्यो मेरो गोदाम होईन, पश्चिम धनगढी नाम गरेको ट्रान्सपोर्टको गोदाम हो, त्यहाँ मेरो पनि सामान आएको थियो, बाँकी १० पोका कसको हो मलाई थाहा भएन, मेरो सामानको मैले भन्सार गएर दाबी गरिसकेको छुु’ अंकुश गुप्ताले भने । 

गुप्ताको यस भनाईलाई पत्याई हाल्ने आधार पनि छैन । एकै गोदाममा भेटिएको सामान आधा भन्सार तिरेको र आधा नतिरेको छ भने त्यो सबै सामान अवैध रुपमा गरिएको तस्किरीमा गनिन्छ । तर सीमामा खटिएका सुरक्षाकर्मी, भन्सारका कर्मचारीहरुको मिलेमतोका यस्ता संयौं घटना छन, जो सहजै मिलाएर अवैधलाई बैध बनाउने गरिन्छ ।

‘भन्सारमा यस्ता दलाल छन, तस्करीको समान बरामद भएपछि न्यून दरमा तस्करलाई नै सकार्न लगाईन्छ । त्यहाँ अरु कुनै ब्यक्ति उक्त सामान सकार्न (लिलाम बोल्न) पाउदैन’ भन्सार स्रोत भन्छ । ‘तस्कर बाहेकको ब्यवसायीलाई लिलाम बोल्न दिईयो भने भन्सार राजश्व पनि बढछ तर त्यो हुन दिईदैन । भन्सारमा तस्करहरुको बोलबाला छ ।’

अंकुश गुप्ता यसअघि पनि आन्तरिक राजश्व छलेको आरोपमा कारवाहीमा परिसकेका छन । उनको पसलमा कर नतिरेको करोडौंको सामान बरामद भएपनि आन्तरिक राजश्वले पनि १४÷१५ लाख राजश्व मात्रै तिराएको स्रोत बताउछ । 

कसले गर्छ तस्करी ?
पछिल्लो समय धनगढीमा भारतबाट साडी, सुट, धोती, सर्टिङसुटिङ सहितका महंगा महंगा कपडा भन्सार छलेर ल्याउनमा धनगढीको मिलनचोकका गौरव गुप्ता र कजरियाका सावक गुप्ता चर्चामा छन । सीमा नाकामा खटिने प्रहरीलाई उनीहरु महिना दिने गर्छन । विहानको २ बजेदेखि ५ बजेको बीचमा भारतबाट मोहना नदीको घाटहरु हुदै उनीहरु कपडाका पोकाहरु नेपाल तर्फ पार गर्छन । 

उनीहरु जुगेडादेखि धनगढीको चटकपुर सम्मका नाकाहरु प्रयोग गर्छन । सीमा नाकामा बस्ने एकजना भन्छन, ‘विहान २ बजेदेखि ५ बजेसम्म डोकेबजार हुदै कञ्चनपुरको बाटोबाट चटकपुर निस्कने बाटोमा तस्करहरुको लाईन हुन्छ । पुरानो भन्सार रोड भएर दुधवाको बाटो अर्को तस्करहरुको बाटो हो ।’ 

उनले तस्करहरुलाई बाटोबाटोमा प्रहरीको पहरा रहने बताए । ‘प्रहरी पनि सिविलमा रहेर उनीहरुलाई समान पास गर्न सहयोग गर्छन, हामी आफ्नै आँखाले देखिरहेका हुन्छौं, तर के गर्ने ? सब मिलेका हुन्छन । कसलाई भन्ने ?’ ती ब्यक्ति भन्छन ।