Skip to main content

फेरि उठ्यो कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग

Submitted by editor on
मेडिकल विश्वविद्यालय घोषणा गर्न र ६सय शैयाको अस्पताल स्थापनाका लागि प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण
शिवराज भट्ट
सहिद दसरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल

धनगढी : सहिद दसरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनामा ढिलाई भईरहेको भन्दै प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।

संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत समिमिलाई ज्ञापन पत्र पठाउदै ध्यानाकर्षण गराएको हो । संघर्ष समितिले गेटामा स्थापना भएको एक सय शैयाको अस्पताल सुदूरपश्चिमबासीलाई भुलाउने माध्यम भएकाले त्यहाँ तोकिएको ६ सय शैयाको अस्पताल सहित स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गरेको छ ।

संघर्ष समितिले २०७९ माघ २९ गतेको मन्त्रीपरिषदको निर्णय र २०८०÷८१ को नीति तथा कार्यक्रममा समेत उल्लेख भएको कुरा कार्यान्वयनका लागि माग गरेको छ । 

२०७९ माघ २९ गतेको मन्त्रीपरिषदको बैठकले गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने निणय गरेको थियो भने २०८०÷८१ को नीति तथा कार्यक्रममा पनि गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने उल्लेख गरिएको थियो ।

संघर्ष समितिले पछिल्लो समय गेटामा एक सय शैयाको अस्पताल सुरुवात गरेर यस क्षेत्रका जनतालाई भुलाउने काम मात्रै भएको आरोप लगाएको छ । ‘हाम्रो एक मात्र ध्येय भनेको संघीय संसदको चालु अधिवेशनमा गेटामा मेडिकल विश्वविद्यालयको विधेयक पास होस भन्ने हो । अर्को गेटामा ६सय शैयाको अस्पताल सुरुवात होस भन्ने हो’ ज्ञापनमा उल्लेख गरिएको छ । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्मसिह कुवरले हस्ताक्षरित ज्ञापन कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पठाईएको हो ।

गेटामा झण्डै ७ अर्वका संरचना बनिसकेका छन । ६ सय शैयाको अस्पतालका लागि भवन, मेडिकल शिक्षा पढाउनका लागि कलेज भवन, प्रशासनीक भवनहरु, चिकित्सक आवास, नर्सिङ आवास, विद्युत, सडक सहितका पुर्वाधार बनिसकेका छन ।