Skip to main content

बाहिरका स्थानीय तहमा दर्ता भएका अटो रिक्सा धनगढीमा चलाउन नपाईने

Submitted by editor on
अटोरिक्सा चलाउन सञ्चालन अनुमति पत्र अनिवार्य गरिने भएको छ भने यात्रु र तेस्रो पक्ष बीमा पनि अनिवार्य गरिने भएको छ ।
ईबिगुल संवाददाता
अटो रिक्सा

धनगढी : धनगढी उपमहानगरपालिकाले विद्युतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको व्यवस्थापन गर्ने भएको छ । उपमहानगरपालिकाले विद्युतीय र अन्य अटो रिक्साको उचित सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

उपमहानगर क्षेत्रभित्र चल्ने विद्युतीय रिक्सा तथा पेट्रोलबाट चल्ने तीन पांग्रे अटो रिक्साको रुट तथा संख्या निर्धारण गरिने भएको हो । उपमहानगरपालिकाले रिक्सा सञ्चालनको अनुमति पत्र नवीकरण, खारेजी र गुणस्तर समेत निर्धारण गर्ने भएको छ । उपहानगरले विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन ऐन अनुसार भाडा दर निर्धारण गर्नेछ भने उसले नियमन र व्यवस्थापन पनि गर्ने जनाएको छ । 

रिक्सा परीक्षण गर्न सुरू
धनगढी नगर क्षेत्रभित्र चल्ने विद्युतीय र अटो रिक्साको सम्पूर्ण नियमन गर्न कानूनसमेत निर्माण गरिएको छ । विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन र व्यवस्थापन सम्बन्धी ऐन, २०७९ पुस २५ मा नगर सभाबाट पारित भएको थियो । उपमहानगरपालिकामा दर्ता भएका रिक्साहरूको परीक्षण गर्न ३५ दिने सूचना समेत निकालिएको उपमहानगरको यातायात शाखा प्रमुख ओमप्रकाश बुढाले बताए । उनले दैनिक २५ वटाका दरले बिहीवारदेखि  रक्साको परीक्षण सुरू भएको बताए ।

‘हालसम्म धनगढी उपमहानगरपालिकामा दर्ता भएका ७२३ वटा अटोको दैनिक २५ का दरले परीक्षण गरिनेछ’ उनले भने । ’साउन ९ गतेदेखि भदौ ११ गतेसम्म रिक्साहरुको अवस्थाको अध्ययन गरिनेछ ।’

रुट र संख्या निर्धारण गरेर अटो चलाइने
धनगढीको आवश्यकता, ट्राफिक व्यवस्थापनमा सहजता, बजार व्यवस्थापनका साथै सवारी धनीहरुको हित प्रवद्र्धन गरी ब्यवस्थापन गर्न लागिएको उपमहानगरले जनाएको छ ।

ऐनअनुसार धनगढीमा विद्युतीय र अटो रिक्सा चलाउन, सञ्चालन अनुमति लिनुपर्ने ब्यवस्था छ । धनगढी नगर क्षेत्रमा अन्यत्र दर्ता भएका रिक्सा चलाउन पाइने छैन भने नगर क्षेत्रभित्र चल्ने रिक्साको संख्या समेत निर्धारण गरिने छ । इजाजत मिलेको रूटमा बाहेक अन्यत्र अटो र विद्युतीय रिक्सा चलाउन नपाइने उपमहानगरपालिकाका कानून अधिकृत खडकसिंह कुञ्जेडाले बताए ।

‘तीन पांग्रे अटो रिक्साहरू चल्ने रुट निर्धारण, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडादर निर्धारण र नियमन तथा व्यवस्थापन गर्ने काम थालिएको छ । जसका लागि कानून समेत बनेको छ’ कुन्जेडाले भने । विद्युतीय र अटो रिक्साधनीले प्रचलित कानून बमोजिम यात्रु तथा तेस्रो पक्ष बिमा अनिवार्य गर्नुपर्ने छ ।