Skip to main content

मोटरसाईकल चोरहरुको बिगबिगि, धनगढीमा एक महिनामै तीन मोटरसाइकल चोरी

Submitted by editor on
ईबिगुल संवाददाता
मोटरसाइकल

धनगढी : कैलालीको धनगढीमा एक महिनाको अवधिमा तीन वटा मोटरसाइकल चोरी भएका छन् । दिनेश एफएमको कार्यालयबाट भदौ १३ गते साँझ सुदूरपश्चिम प्रदेश ०१–०१० प ५६२० नम्बरको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल चोरी भएको थियो । 

भदौ १४ गते प्रहरीमा मोटरसाइकल चोरी भएको र खोजीका लागि निवेदन दर्ता गरिएको छ । भदौ २२ गते राति फूलबारीबाट अर्काे मोटरसाइकल चोरी भएको थियो । फूलबारी घरमा पार्किङमा राखिएको एमाहा कम्पनीको लु ६२ प ८८२१ नम्बरको मोटरसाइकल रातिको समयमा चोरी भएको हो ।

धनगढी उपमहानगरपालिका–६ मटियारीबाट आइतवार राति तेस्रो मोटरसाइकल चोरी भएको छ । घरको बरण्डामा राखेको रन्जित रानाको से ७ प ७६३३ नम्बरको रातो कलरको एनएस २ सय सिसि पल्सर मोटरसाइकल चोरी भएको हो । 

रानाले पनि कैलाली प्रहरीमा खोजीका लागि निवेदन दिएको बताए । राति १२ देखि ३ बजेको बिचमा मोटरसाइकल चोरी भएको हुन सक्ने उनले बताएका छन् । तर, कैलाली प्रहरीले मोटरसाइकल फेला पर्नेमा विश्वस्त नहुने भनेको रानाले बताए । उनले भने, ‘कैलाली प्रहरीमा निवेदन दिएको छु । उहाँहरूले खोज्छौ भन्नु भयो । तर, नभेटिन पनि सक्छ । भगवान भरोसा हो ।’

कैलाली प्रहरीका अनुसार कैलालीका ग्रामीण क्षेत्र र कञ्चनपुरको पुनर्वाससहितको दक्षिणी क्षेत्रमा चोरीका मोटरसाइकल चलाउने गरिएको छ । धनगढीसहितका क्षेत्रमा सांगठनिक रूपमा चोरीका घटना हुने गरेका छन् । कैलाली जिल्ला कारागारबाट मात्र श्रावण महिना यता १६ जना चोरी मुद्दाका दोषीहरु रिहा भएका छन् ।