धनगढीः सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति चयन गर्न प्रदेश सभा सचिवालयले प्रक्रिया अघि बढाएको छ । सचिवालयले आइतबार सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरूमा सभापति पदको निर्वाचनका लागि प्रक्रिया थालिएको जनाएको छ ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको उल्लेख गरिएको छ । १८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने जनाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको रिक्त रहेको सभापति पदका लागि निर्वाचन हुनेछ ।
सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबण्डा भएको थियो । भागबण्डाअनुसार सत्तारुढ नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले एउटा/एउटा समितिको सभापति लिनेछन् ।
उक्त भागबण्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली काँग्रेसलाई विशेष समितिका सभापति लिनेछ । दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत गरेका थिए ।