Skip to main content

आमाले जब छोरा बाकसमा फर्केको देखिन....

Submitted by editor on
गीता कुँवर
विरेन्द्र शाहको शव

अछाम : मंगलबार पौने २ बजे विरेन्द्र शाहको शव राखिएको बक्सा बोकेर हेलिकप्टर घर नजिकै बस्यो । आमा होस बेहोसमा थिईन  । विदेश जाने तयारीका लागि काठमाण्डौं गएको छोराको, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गर्ने उनको सपना अब कहिल्यै पुरा हुने छैन । 


काठमाण्डौबाट छोराको शव ल्याएर विवस अवस्थामा रहेका वुवा टेकबहादुर पनि फर्किए । श्रीमती दुर्गालाई देख्ने वित्तिकै टेकबहादुर भक्कानिए । दुर्गा छोराको शवको बाकस देख्ना साथ हातखुट्टा बर्जादै कराउदै रुन थालिन् । रुदाँरुदाँ उनको स्वर सुकिसकेको थियो ।
विदेश जाने सपना लिएर हसिलो अनुहारका साथ गएको छोरा अब सदाका लागी अस्ताएको छ ।  आमा दुर्गा अचेत अवस्थामा छिन् । छोरा वीरेन्द्रको मृत्यु खबर सुनेदेखि दु्र्गाको होस खुलेको छैन । छोराको वियोगमा आसु रित्तिसके । 


‘बेहोसीमा समेत बर्बराउछिन् । रुदै मुर्छा पर्छिन, मुर्छित दुर्गालाई पानी छम्केर होसमा ल्याईन्छ’ छिमेकीले महिलाले भनिन । पुष १३ गते वीरेन्द्रको मृत्युको खबरले गाउँ नै शोकमा थियो । त्यो दिनदेखि घरको आँगन भरि मानिसहरुको भिडभाड थियो । 


विरेन्द्रको मंगलबार नै अन्त्यष्टी गरि सकिएको छ । आफन्त गणेश शाह भन्छन, ‘कुनै पनि बा आमाका सन्ताको यस्तो मरण नहोस । गाउँमा सन्नाटा छाएको छ ,आमाको होस नै छैन । आफन्तहरुसंग सान्त्वना दिने शब्द नै छैन ।’ 


गाउँमा सबैसंग मिल्ने सरल र सहज स्वभावका थिए । भलिबल निकै राम्रो खेल्थे । यस्तो असल मान्छेको निकै दुखद मृत्यु भयो । विदेश जाने कुराले गाउँका अभिभावक अब तर्सिन थालेका छन्’।  चौरपाटी गाउँपालिका १ का लालबहादुर साउदले भने ।
वीरेन्द्रले सिउडी माबीमा कक्षा १२ सम्मको पढाईपछि छिमेकी जिल्ला डडेल्धुरा गएर भेटेरिनरी जेटिए पढेका थिए । देशमै रोजगारको अवस्था नदेखेपछि उनी विदेश जाने सपना लिएर काठमाण्डौ गएका थिए । 


वीरेन्द्र पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा नाम ननिस्किएका कारण उनले कोरिया जाने अर्को अवसर खोज्नुपर्ने थियो । त्यही बेला कोरियाले उत्पादन मूलक कामका लागि अर्को भाषा परीक्षा सञ्चालन गर्ने भयो । तर त्यसमा वीरेन्द्र जस्ता पानी जहाज बनाउने कामका लागि परीक्षा दिएर फेल भएकाहरुले फारम नै भर्न नपाउने भए ।  


शुक्रबार कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (ईपीएस)को ग्वार्काे स्थित कार्यालय बाहिर युवाहरुले प्रदर्शन गरेका थिए । त्यही प्रदर्शनका क्रममा वीरेन्द्र प्रहरीको गोली लागेर मारिएका हुन ।