धनगढी : कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरीले केही दिनअघि दिएको राजीनामा फिर्ता लिएका छन् । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा चौधरीको घरमा तोडफोड तथा आगजनी भएको थियो ।
त्यतिबेला उनलाई राजीनामा दिनुपर्ने दबाब मात्र नभई ज्यान मार्ने धम्की समेत आएपछि उनले सामाजिक सञ्जालमार्फत गाउँपालिका अध्यक्ष र पार्टी सदस्य पद दुवैबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर, गाउँपालिका भित्र सार्वजनिक तथा निजी सम्पत्ति संरक्षण गर्ने, गाउँसभा सदस्य र राजनीतिक दलहरूबाट राजीनामा फिर्ता लिन आग्रह भएको भन्दै उनले शनिबार विज्ञप्ति जारी गरी राजीनामा फिर्ता लिएको जानकारी दिएका छन् ।
अध्यक्ष चौधरीले गाउँपालिकाको नियमित कामकारबाही अघि बढाउन सबै कैलारीबासीसँग सहयोग र समन्वयको लागि आग्रह गरेका छन् ।