Skip to main content

टेलीकमको कवाड विक्रि प्रकरण : दुईवटा ट्रकमा मात्रै एक करोड बढीको घोटाला

Submitted by editor on
शिवराज भट्ट
कवाडको विक्रि

धनगढी : नेपाल टेलिकमको तामाजन्य कवाडको विक्रि प्रकरणमा दुई ट्रकमा मात्रै १२ हजार किलोको घोटाला भएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले गठन गरेको छानविन समितिले गरेको दुई वटा ट्रकमा विलमा उल्लेख भएको भन्दा ११ हजार ९५२ किलो बढी तामाजन्य कवाड फेला परेको हो ।

जिल्ला प्रशाशन कार्यालय कैलालीले प्रशासकीय अधिकृत शिवराज जोशीको नेतृत्वमा गठन गरेको छानविन समितिले पक्राउ परेका दुई वटा रा १ ख ३२०६ र ना ६ ख ४६० नम्बरको ट्रकको विहीबार र शुक्रबार तौल गरेको हो । 

‘त्यो दिनको विलिङमा १५ हजार ७७९ किलो तौल देखाईएकोमा हामीले तौल गर्दा ११ हजार ९५२ किलो बढी तौल देखिएको छ । बिहीबार र शुक्रबार गरी तौल गरिएको हो । अब प्रतिवेदन दिने तयारीमा छौं’ छानविन समितिका अध्यक्ष प्रशाकीय अधिकृत शिवराज जोशीले भने ।
नेपाल टेलीकमको कबाडजन्य पदार्थमा अनियमीतता भएको भन्दै प्रशासनमा उजुरी परेपछि छानविन समिति गठन भएको थियो ।

छानविन समितिको निर्देशन पछि प्रहरीले दुई वटा ट्रक पक्राउ गरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखेको थियो ।नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामानको लिलाम बिक्रीका क्रममा अनियमितता भएको आशंकामा स्थानीय प्रशासनले छानबिन सुर गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दूरसंचार कार्यालय गेटाबाट लोड गरेर लैजाने क्रममा सामग्री सहितका दुई वटा ट्रक नियन्त्रणमा लिइएका थिए । टेलिकमको अभिलेखभन्दा प्रहरीले नियन्त्रणमा लिएका ट्रकको तौल झण्डै दोब्बरले बढी देखिएपछि अनियमितताको आंशका गरिएको छ ।

टेलिकमको गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) निकासी भएको अभिलेख छ । तर प्रहरीले नियन्त्रणमा लिइएका दुई वटै लोड ट्रकको तौल २७ हजार ७३१ किलो देखिएको छ । 

यसकार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनी बीच मिलेमतो भएको आशंका रहेको कैलालीका एक सुरक्षा सम्बद्ध अधिकृतले बताए । 

निर्देशनालयका अनुसार प्रबल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग कपरजन्यष् पदार्थको ठेक्का सम्झौता गरेको थियो ।

निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता भएको थियो ।

दुई वटा ट्रकमा बढी भेटिएको तौलको मात्रै झण्ण्डै एक करोड १ लाख रकम हुन आउछ । यसअघि पनि ठेकेदार कम्पनीले कपरजन्य धेरै सामान लगिसकेका स्रोतले बतायो । दुई वटा ट्रकमा मात्रै एक करोड बढी घोटाला भएको आशंका गरिएको छ ।