कञ्चनपुरः कृष्णपुर नगरपालिका–६ वञ्जरियास्थित महाकाली सामुदायिक वनले वन पैदावारको आम्दानीलाई समाज विकास र पूर्वाधार निर्माणका क्षेत्रमा उपयोग गर्दै आएको छ।
वन उपभोक्ताको सक्रियता र संस्थाको लगानीमा पूर्वाधार निर्माणसँगै आयमूलक कार्यक्रम सञ्चालन गरिने भएको हो। सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीका अनुसार दाउरा, काठ, घाँसलगायत वन पैदावार बिक्रीबाट आएको रकम सामाजिक र संस्थागत विकासका क्षेत्रमा खर्च गरिएको हो।
वन क्षेत्रभित्र पस्ने बालुवाको उचित व्यवस्थापनका लागि खोलामा जनश्रमदानसहित करिब ३४ लाखको लागतमा पक्की पुल निर्माण गरिएको उनले जानकारी दिए। धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै करिब छ लाखको लागतमा कालिका र वनदेवीका दुई वटा मन्दिर निर्माण भइरहेको उनले जानकारी दिए।
वन कार्यालय परिसरमा विश्राम स्थल९प्रतीक्षालय० निर्माण गरिएको छ। नदीले भूक्षय गर्दै आएको क्षेत्रमा तटबन्ध र टेवा पर्खाल निर्माण गरिएको जनाउँदै उहाँले माटो भरानमार्फत जमिनलाई सुरक्षित राख्ने कार्य गरिएको बताए। ‘वन क्षेत्रलाई अतिक्रमण र अवैध प्रवेशबाट जोगाउन एक दशमलव पाँच किलोमिटर क्षेत्रमा मेसवायर तारजाली लगाइएको छ भने पर्यटकीय दृष्टिले आकर्षक बनाउन वन पथ निर्माण गरिएको छ। यसले वन गस्तीलाई पनि सहज बनाएको छ’, उनले भने।
उपभोक्ताको आयआर्जन बढाउन सामुदायिक वनले विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको अध्यक्ष राजवंशीले जानकारी दिए। उनका अनुसार दुना–टपरी बनाउने, लहेङ्गा–चोलिया सिलाउने, वेतबाँसका सामग्री निर्माण गर्नेलगायत तालिम दिइएको छ। यी तालिमबाट सीप सिकेका उपभोक्ता हाल आयआर्जनमा संलग्न हुन थालेका उनको भनाइ छ। युवालाई खेलकुदतर्फ आकर्षित गर्न खेल सामग्री उपलब्ध गराइएको अध्यक्ष राजवंशीले बताए।
खेलसम्बन्धी सामग्री प्राप्त भएसँगै स्थानीय युवामा सकारात्मक प्रभाव पारेको सामुदायिक वन उपभोक्ता बताउँछन्। महिला सशक्तीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई सशक्त बनाउन वनले आगामी वर्षदेखि थप तालिम सञ्चालन गर्ने योजना बनाएको वनका अध्यक्ष राजवंशीले जानकारी दिए।
विशेष गरी विपन्न, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका वर्गलाई लक्षित गरी मौरीपालन, बाख्रापालन, भैँसीपालन, उन्नत जातका गाईपालन र बेमौसमी तरकारीखेतीसम्बन्धी तालिम दिने योजना बनाइएको उनले उल्लेख गरे।
साथै समूह व्यवस्थापन, नेतृत्व विकास, तरकारी उत्पादनका लागि उत्पादनमुखी अनुदान र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यसका लागि सामुदायिक वनले घुम्ती कोषको व्यवस्था गरेको छ। महाकाली सामुदायिक वन १९७ दशमलव ५७ हेक्टर क्षेत्रफलमा फैलिएकामा करिब एक हजार १६३ उपभोक्ता आश्रित छन्। वन उपभोक्ताको सक्रियतामा सञ्चालन भएका कार्यक्रमले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेको सामुदायिक वनका पदाधिकारीहरू बताउँछन्।