धनगढी : कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झागिएको झाडी सफाइ गरिएको छ । सहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको अगुवाईमा स्थानीयहरुले सरसफाई गरेका हुन् । विश्वविद्यालयको प्रशासनिक, एकेडेमी भवनको परिसर झाडीले झागिएको थियो ।
तीन वर्ष अघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा नआएको विश्वविद्यालयको प्रशासनिक, एकेडेमी भवनको परिसरमा झाडी सफाई गरिएको हो । सङ्घर्ष समितिका सदस्य विनोद विष्टले आन्दोलनकै कार्यक्रम अन्तरगत साङ्केतिक रूपमा दबाब दिन विश्वविद्यालय परिसरमा झाडी सफाइ गरिएको बताए । उनले सरकारका कारण अर्बौका पूर्वाधार जिर्ण बन्ने खतरा भएको बताए । विष्टले सरकारले ऐन बनाए पनि त्यसको कार्यान्वयनमा बेवास्ता गरेको बताए । उनले ऐन पारित भएको २ महिना पुग्दा पनि विश्वविद्यालयको प्रशासनिक टिम नै नियुक्ति गर्न बेवास्ता गरेको उनले उल्लेख गरे ।
संघर्ष समितिका पदाधिकारी, सदस्य र स्थानीयहरुले विश्वविद्यालय परिसरमा उम्रिएका छाडी सफा गरेका हुन । विश्वविद्यालय परिसरमा झाडी उम्रिएर कुरूप बनेको छ । हाल ५० बेडको अस्पताल सञ्चालन भएको भवन वरपर समेत झाडीले झागिएको थियो । सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले एप्रोन लगाएका विद्यार्थीहरू पढ्न सुरु नगर्दा सम्म आफूहरूको सङ्घर्ष जारी रहने बताए । उनले विश्वविद्यालय अन्तरगत रहने अस्पताल ५० शय्याको मात्रै रहेकाले अस्पतालको क्षमता तत्काल ३ सय शय्या विस्तार गरेर यसै वर्ष देखि चिकित्सा शिक्षा अध्यापन गराउनुपर्ने बताए । स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडलले नै ३० बेडको आकस्मिक कक्ष सञ्चालन गरेको भनेर भ्रम सिर्जना गर्ने काम भएको उनले बताए ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ७ महिना अघि नै ३ सय शय्याको अस्पताल बनाउने बाचा गरे पनि ७ महिना पछि आउँदा आफैले बोलेको कुरा पुरा नगरी इमर्जेन्सी सेवाको उद्घाटन गरेपछि विरोध गरिएको उनले बताए । संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले सरकारले अनेक वहानाबाजी गर्दै मेडिकल विश्वविद्यालय सञ्चालन प्रक्रिया लम्ब्याउने काम गरिरहेको बताए । मेडिकल विश्वविद्यालयका लागि अहिले नै ३ सय बेडको अस्पताल सञ्चालन गर्नुपर्ने आवश्यक देखिए पनि त्यो हुन नसक्नु दुखद रहेको उनको भनाई छ ।
सरकारको यति ठूलो लगानीमा बनेका पूर्वाधारहरु मेडिकल विश्वविद्यालय सञ्चालनमा नआउँदै जिर्ण बन्ने हुनकी भन्ने स्थानीयहरु चिन्तित हुन थालेका छन् । सरकारले ६ अर्ब ६८ करोड लगानीमा गोदावरी नगरपालिकाको गेटामा ४३ वटा भवन निर्माण गरेको छ । हाल ५० बेड रहेको अस्पताल भवन वाहेक अन्य भवन सञ्चालनमा आउन सकेको छैन ।