धनगढी : गेटामा डाक्टरको पढाइ सुरू नहुन्जेलसम्म संघर्ष समितिले आन्दोलन नरोक्ने भएको छ। संघर्ष समितिले लामो प्रतीक्षा र संघर्षपछि गेटामा भौतिक संरचना निर्माण भएको र तत्काल प्रयोगमा आउनुपर्ने माग गरेको छ। संघर्ष समितिले विश्वविद्यालय ऐन शीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ। ऐनअनुसार विश्वविद्यालय सभा ओगठन, उपकुलपति, रजिस्ट्रार र अन्य पदाधिकारी नियुक्त गर्न आग्रह गरिएको छ।
६ सय शय्याको क्षमता भएको अस्पताल भवनमा ५० शय्या चलाएर सुदूरपश्चिमेली नागरिकालाई नजिस्काउन संघर्ष समितिले आग्रह गरेको छ। गेटामा भौतिक पूर्वाधार तयार रहेको तथा ऐन निर्माण भएको अवस्थामा विश्वविद्यालय ऐनअनुसार नियमावली निर्माण गरिनुपर्छ। पदाधिकारी नियुक्त गर्न, कम्तिमा तीन सय शय्याको अस्पताल चलाएर र एमबीबीएसको पढाई सुरू गर्नुपर्छ, संघर्ष समितिका सदस्य बिनोद विष्टले भने।
गेटामा मेडकिल कलेज स्थापना हुनुपर्ने कुरा सर्वप्रथम २०४८ सालमा उठेको हो। २०५६ सालमा शङ्कराचार्यले मेडिकल कलेज भवनको शिलान्याश समेत गरेका थिए। कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि औपचारिक रुपमै गेटामा मेडिकल शिक्षाको पढाइ हुनुपर्ने माग राख्दै आएको छ। अहिले विश्वविद्यालय सञ्चालनका लागि कानुन र भौतिक संरचना निर्माण भएको अवस्था हो। सरकारले ६ सय शय्याका लागि निर्माण गरेको अस्पताल भवनमा ५० शय्याको सामान्य अस्पताल चलाएर सुदूरपश्चिमेली नागरिकलाई जिस्काउन खोजेको गुनासो गरिएको छ।
६ सय शय्याको क्षमता भएको अस्पताल भवनमा ५० शय्या चलाएर सुदूरपश्चिमेली नागरिकालाई सरकारले जिस्काउन नहुने संघर्ष समितिका सचिव धर्म कुँवरले बताए। ६ सय शय्याको अस्पतालमा ५० शय्याको अस्पताल चलाएर सुदूरपश्चिमका जनताको आँखामा छारो हाल्न खोजिएको छ। क्लिनिक जस्तो अस्पताल चलाएर सुदूरपश्चिमेली जनतालाई नजिस्काउन सरकारसँग आग्रह छ, संघर्ष समितिका सचिव कुँवरले भने।
गेटामा डाक्टर अर्थात् एमबीबिएसको पढाइ सुरू नगर्दासम्म संघर्ष समितिले आन्दोलन स्थगित नगर्ने जनाएको संघर्ष समितिले जनाएको छ। गेटामा करिब ७ अर्बको लागतमा ७७ बिघा क्षेत्रफलमा ४३ भन्दा बढी भवन निर्माण भएका छन्। सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न ऐनसमेत निर्माण गरेको छ।
विश्वविद्यालय संघर्ष समितिले ऐनमा उल्लेख प्रावधानअनुसार काम गर्न संघीय सरकारलाई खबरदारी गर्दै आएको छ। देशका अन्य भागमा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र ठुला अस्पताल सञ्चालन गरेको नेपाल सरकारले सुदूरपश्चिममा भने सुविधासम्पन्न अस्पतालसम्म चलाएको छैन। तसर्थ गेटामा सेतो एप्रोन लगाएर विद्यार्थीहरूले एमबीबीएस अध्ययन गर्ने वातावरण नबन्दासम्म आन्दोलन गरिरहने संघर्ष समितिका संयोजक लोकराज पाण्डे ’आगो’ ले बताए।
गेटामा निर्माण भएका भवनहरू लामो समयदेखि प्रयोगविहिन छन्। सरकारले स्वास्थ्य चौकी सरहको अस्पताल सञ्चालन गर्नुभन्दा विश्वविद्यालय ऐन कार्यान्वयनमा ध्यान दिनुपर्ने आग्रह गरिएको छ।