धनगढी : इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका कञ्चनपुरका युवा विपिन जोशीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायलको पहलमा संकलन गरिएको सहयोगमार्फत परिवारलाई हालसम्म करिब १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरीका अनुसार संघको कोषबाट ५ हजार सेकल र अभियानमार्फत १२ हजार सेकल संकलन गरिएको छ । त्यस्तै महासंघका अध्यक्ष सुर्य रानाका अनुसार आवद्ध ८ वटा जातीय संस्थाको पहलमा झण्डै १२ हजार सेकल सहयोग जुटाइएको हो। अन्य व्यक्तिहरू र संघ–संस्थाबाट सहयोग आउने क्रम अझै जारी छ । २२ महिनाअघि अध्ययन र उज्ज्वल भविष्यको आशा बोकेर इजरायल पुगेका विपिनलाई केही दिनमै हमासले अपहरण गरेको थियो । उनको अवस्थाबारे अहिलेसम्म कुनै ठोस जानकारी नभए पनि परिवारजनले सुरक्षित रिहाइका लागि निरन्तर अपील गर्दै आएका छन् । हालै आमा र बहिनी पुष्पा इजरायल पुगेर अन्तर्राष्ट्रिय समुदायसँग विपिनको रिहाइका लागि आवाज उठाएका थिए ।
सहयोगबारे विपिनकी बहिनी पुष्पाले कृतज्ञता व्यक्त गर्दै भनिन्, “यो कठिन समयमा प्राप्त सहयोगले हाम्रो परिवारलाई ठूलो हौसला दिएको छ। दाइको रिहाइका लागि हाम्रो अभियान निरन्तर रहनेछ।” समुदायका अगुवाहरूले आर्थिक मात्र नभई यो सहयोग नैतिक बलको प्रतीक भएको बताइन ।