Skip to main content

आज विहानै चीन गए प्रधानमन्त्री ओली

Submitted by editor on
ईबिगुल संवाददाता
 प्रधानमन्त्री ओली

काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा आज बिहानै प्रस्थान गरेका छन् ।

उनले चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एस.सी.ओ.) को शिखर सम्मेलनमा भाग लिनेछन्। प्रधानमन्त्रीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले अनुमोदन गरेको हो । बैठकमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उठाउने एजेन्डाहरूका विषयमा मन्त्रीहरूसँग छलफल गरेका थिए।

सन् २००१ मा स्थापना भएको सांघाई सहयोग संगठन विश्वकै सबैभन्दा ठूला क्षेत्रीय संगठनमध्ये एक हो । यसका पूर्ण सदस्य राष्ट्रहरूमा चीन, रुस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस छन् । नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स यस संगठनका संवाद साझेदार (डायलॉग पार्टनर) हुन्। नेपाल सन् २०१६ देखि यसको संवाद साझेदार रहँदै आएको छ।