Skip to main content

अछामको कमलबजारका घर/घरमा प्रहरीको स्टिकर

Submitted by editor on
कमलबजार नगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ७, ८ र १० का २ जार ६ सय घरहरुमा स्टिकर टाँस गरिएको छ
ईबिगुल संवाददाता
अछाम

अछाम : गाउँघरमा हुने अधिकांस घटना प्रहरीकोमा पुग्दैनन । मदिरा सेवन गरी हुने झैझगडा होस वा महिला हिंसा वा अरु कुनै कुटपिट । कतिपय जघन्य प्रकृतीका अपराधका घटना पनि प्रहरीकोमा नपुगेर गाउँमा दबाईन्छन । 

कतिपयसँग प्रहरीलाई खबर गर्न फोन नम्बर पनि हुदैन । जस कारण गाउँमा हुने अपराधका अधिकांस घटना बाहिर आउदैनन । तर अछामको ईलाका प्रहरी कार्यालय अछामले भने गाउँमा जनताको घर÷घरमा प्रहरीको फोन नम्बर भएको ‘स्टिकर टाँस्ने’ अभियान नै सुरु गरेको छ ।

प्रहरी निरिक्षक विरेन्द्र जोहारीले ईलाका प्रहरी कार्यालय कमलबजारको कमाण्ड सम्हालेपछि, उनले नै यो अभियान सञ्चालन गरेका हुन । ‘गाउँमा प्रहरी आयो भने केही घटना भयो की भनेर आशंका गर्ने स्थानमा प्रहरी साथी जस्तै भएर स्टिकर टाँस्ने कार्यमा लागेको छ । स्थानीय बासिन्दा खुसी भएको पाएको छु’ प्रहरी निरिक्षक जोहारीले भने ।

ईलाका प्रहरी कार्यालय अछामले अहिलेसम्म २ हजार ६ सय स्टिकर स्थानीयको दैलोमा टाँस गरिसकेको छ । ‘कमलबजार नगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ७, ८ र १० का २ जार ६ सय घरहरुमा स्टिकर टाँस गरिएको छ’ प्रहरी निरिक्षक जोहारीले भने । ‘अब स–साना घटनाको पनि फोनमा जानकारी आउन थालेको छ ।’

जोहारी देउडा गायक पनि हुन । प्रहरी सेवामा केही नौलो गर्न रुचाउने उनले धनगढीमा ट्राफिक प्रहरीको कमाण्ड सम्हालेपछि उनले विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई ट्राफिक नियमको जनचेतना फैलाउने काम गरेका थिए । उनले काठमाण्डौं उपत्यका बाहिर धनगढीमा पहिलो पटक ट्राफिक नियमको उलंघन गर्नेहरुलाई अनिवार्य रुपमा कक्षा लिनुपर्ने नियम लगाएका थिए । उनको कार्यकालमा ट्राफिक नियमको उलंघन गरेका करिब २ हजार जनालाई ट्राफिक नियमको चेतनामूलक कक्षा दिईएको थियो ।