धनगढी : कैलालीको गेटास्थित सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सत्याग्रहमा बसेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार ग्लुकोजको मात्रा ३७ पुगेको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।
‘ग्लुकोजको यो अवस्था अति कम हो, ७० भन्दा तल भएमा जुनसुकै बेला बेहोस हुने जोखिम हुन्छ । नर्मल स्लाइन बाहेक अन्य औषधी लिन मानेका छैनन्,’ उनले भने, ‘यो रिपोर्ट मंगलबार बिहान ६ बजेको हो । डाक्टरहरूले उनको स्वास्थ्य अवस्थाबारे परामर्श गरिरहेका छन् ।’ आइतबार अपराह्नबाट तीन दिने सत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार तेस्रो दिन हो । मंगलबार अपराह्नतिर सत्याग्रह अन्त्य गर्ने तयारी रहेको छ ।
तेइसौँ सत्याग्रह थालेका डा. केसीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने, शुल्क वृद्धि नगर्नुपर्ने, सम्झौता अनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने माग गरेका छन् । दोस्रो मागमा उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्नुपर्ने बताएका छन् यसअघि भएका सबै सम्झौता र माग कार्यान्वयन तथा पूरा गर्नुपर्ने उनको माग छ ।
लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र त्यसको सुनिश्चितता गर्न नेपाल सरकारसँग उनले माग गरेका छन् । चौथो मागमा उनले युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायलसमक्ष माग गरेका छन् ।