Skip to main content

धनगढीको मुख्यसडक कालोपत्रे गर्दागर्दै उप्कियो, निर्माणमा रोक

Submitted by editor on
चार पटक म्याद थप्दा पनि सकिएन निर्माण, कालिका कन्सट्रक्सनको चरम लापरवाही
शिवराज भट्ट
निर्माणमा रोक

धनगढी : धनगढीको मुख्य सडक कालोपत्रे गुणस्तरहीन भएको भन्दै निर्माणमा रोक लगाईएको छ । चार पटक म्याद थपेर पनि निर्माण सम्पन्न हुन नसकेको धनगढीको (कैलालीपुल–ट्राफिक चौराहा) मुख्य सडकमा कालोपत्रे गुणस्तरहीन भएको भन्दै क्षेत्रीय शहरी विकास आयोजना कार्यालयले निर्माणमा रोक लगाएको हो । 

क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका इन्जिनियर सौरभ कलौनीले आइतवारदेखि काम रोकिएको बताए । ‘लेयर मिलेको छैन । अलकत्राको मात्रा मिलेको छैन । मुख्यमन्त्री कार्यालयकै अगाडी सडक उप्किएको छ । त्यसैले निर्माण कम्पनीलाई पत्र नै पठाएर निर्माण रोक्न भनिएको छ’ ईन्जिनियर कलौनीले भने ।

धनगढीको कैलाली पुल देखि ट्राफिक चौक सहितका विभिन्न ८ वटा सडक निर्माणको ठेक्का चितवनको कालिका कन्स्ट्रक्सनले पाएको थियो । एशीयाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माण हुन थालेको उक्त सडक २ वर्षमा निर्माण सक्नेगरी ७७ करोड रुपैंयाँमा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका ८ वटै सडक निर्माणको ठेक्का २०२२ को अगस्तमा चितवनको कालिका कन्सट्रक्सनले २ वर्षमा सम्पन्न गर्नेगरी ७७ करोड रुपैंयाँमा लिएको थियो । तर, ४ पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन । उसको अन्तिम पटकको म्याद २०८० सालको कार्तिकमा सकिएको थियो । आयोजनाले फेरि अन्तिम पटक भन्दै चैत मसान्तसम्मका लागि म्याद थप गरेको छ ।

धनगढी उपमहानगरका कैलाली पुलदेखि चौराहा, सहिदगेटदेखि क्याम्पस, गुल्म चर्च सडक, क्याम्पस चोकदेखि क्याम्पस गेट, डिभोटी होटल देखि पिपलचौतरा, पिपल चौतारादेखि लवलीचोक, मालपोत रोड र ज्योती रोड गरी ८ वटा सडकको साढे १० किलोमिटरको ठेक्का एकै प्याकेजमा भएको हो । निर्माण ब्यवसायीले सहिदगेट क्याम्पस, क्याम्पस चोकदेखि क्याम्पस र मालपोत रोड कालोपत्रे गर्नेबाहेक अरु सडकमा अलपत्र छाड्दा आवतजावत गर्नेले सास्ती भोगिरहेका छन् ।

निर्माण कम्पनीले निर्माणमा चरम लापरवाही गरिरहेको सडक चैतमा पनि नसकिए उसले १० प्रतिसत  जरिवाना तिर्नुपर्ने छ । जरिवाना लाग्ने डरले निर्माण कम्पनीले घाम नपरेकै बेला कालोपत्रे गरेपछि त्यसको गुणस्तर विग्रिएको हो ।

परामर्शदाता विल्डीङ डेभलवमेन्ट अथोरिटि बिडिएले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडीको सडक पुनः कालोपत्रे गर्नुपर्ने भन्दै निर्माण कम्पनीलाई पत्राचार गरेको छ । क्षेत्रीय शहरी विकास आयोजनाका सबै सडकको गुणस्तर मुल्यांकन गर्ने जिम्मा विडिएको हो । 

कालिकाले निर्माण गरेका अरु सडकहरु पनि हस्तान्तरण नहुदैभत्एिका छन । सहिदगेट–क्याम्पस सडकको ठाउँ ठाउँमा सडक भत्किएको छ भने हालै कालोपत्रे गरिएको गुल्म–चर्च सडकका पनि विभिन्न स्थानमा कालोपत्रे टुटेर खाल्डा बनको छन ।

कालिका कन्स्टक्सनका प्रतिनिधि प्रकाश खरेलले गल्ती भएको स्वीकार गरेका छन । उनले रोलर गर्दा ध्यान नदिएकाले समस्या देखिएको बताए । ‘केही स्थानमा रोलिङमा समस्या देखिएको छ । अपरेटरले कम रोल गरेको पाईयो । त्यस ठाउँमा नयाँ कालोपत्रे गरिनेछ’ खरेलले भने ।