Skip to main content

‘जेनजी’ र ‘नेपो बेबिज’ को हुन्, नेपालमा किन चर्चा ?

Submitted by editor on
ईबिगुल संवाददाता
jnz

काठमाण्डौँ : सामाजिक सञ्जाल प्ल्याट्फर्मबारे सरकारको पछिल्लो निर्णयसँगै केही दिनयता नेपालमा दुईवटा शब्दावली निकै चर्चामा छन् ः “जेन जी“ र “नेपो बेबिज“ ।  केम्ब्रिज शब्दकोषका अनुसार सन् १९९० को दशकको अन्त्यतिर र सन् २००० दशकको सुरुतिर जन्मिएका मानिसहरूलाई ’जेनरेशन जेड’ अर्थात् ’जेन जी’ भन्ने गरिएको छ ।

सोही शब्दकोषका अनुसार ’नेपो बेबी’ अथवा ’नेपटिजम बेबी’ भनेका प्रसिद्ध व्यक्तिका छोराछोरी हुन् जो सोही कारण आफैँ सफल र प्रसिद्ध भएका हुन् । तर ख्यातिप्राप्त व्यक्तिका सन्तानले क्षमताबाट मात्रै नभई आमाबुवाको प्रसिद्धिबाट फाइदा लिई सफलता हासिल गरेको भन्ने हिसाबले पछिल्ला वर्षहरूमा त्यसको प्रयोग हुने गरेको छ । ’नेपटिजम’ ल्याटिन शब्द ’नेपज’बाट आएको हो जसको अर्थ ’नेफ्यू’ अर्थात् ’भतिजभतिजी, भान्जाभान्जी’ हुन्छ ।
खास गरी क्याथलिक गिर्जाघरका पोप तथा बिशपहरूले विगतमा आफ्ना भतिजभतिजी, भान्जाभान्जी लगायतलाई गिर्जाघरमा नियुक्ति दिने गरेका सन्दर्भमा उक्त शब्द प्रचलनमा आएको बताइन्छ । प्रतिष्ठित ’न्यूयोर्क म्यागजीन’ले सन् २०२२ को अन्त्यतिर “द यिअर अफ द नेपो बेबी“ शीर्षकको मूल समाचार लेखेपछि उक्त शब्द पछिल्लो समय झन् चर्चामा आएको विभिन्न विवरणमा उल्लेख छ ।

गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई निष्क्रिय बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै त्यसले व्यापक असन्तोष र आक्रोश निम्त्याएको छ । धेरैले सोमवार ’जेन जी’ पुस्ता सामाजिक सञ्जालबाट सडकसम्म देशका विभिन्न ठाउँमा प्रदर्शनमा निस्कनुको कारक तत्वका रूपमा सोही कदमलाई लिइरहेका थिए ।

प्रदर्शनमा आउनुभन्दा केही दिनअगाडिबाटै ’जेन जी’ पुस्ताले कतिपय नेताका एवं प्रसिद्ध व्यक्तिका छोराछोरी र गरिब जनताका सन्तानका तस्बिरहरू राखेर तिनीहरूको तुलनात्मक हैसियतबारे भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ । तर उनीहरूको प्रदर्शनलाई विभिन्न कोणले अथ्र्याइँदै छ । एक थरीले सो पुस्तामा देखिएको राजनीतिक चेत भनिरहेका छन् भने खास गरी सत्ताधारी दलहरूले प्रदर्शनको दुरुपयोग हुन सक्ने भन्दै सचेत गराएका गराएका थिए ।

युवामाझ लोकप्रिय काठमाण्डूका मेअर बालेन शाहले सामाजिक सञ्जालमार्फत् प्रदर्शनप्रति समर्थन जनाएका थिए भने हाल कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलबाटै ऐक्यबद्धता जनाएका विवरण आएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्डले “भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध युवाहरूको प्रदर्शन स्वाभाविक“ भएको बताएका छन् ।

तर प्रदर्शनको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनप्रति सङ्केत गर्दै ’जेन जी’ पुस्तालाई दुरुपयोग गर्न सकिने सम्भावना औँल्याउँदै त्यसप्रति सचेत हुनुपर्ने बताएका थिए । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले ’जेन जी’ पुस्ताको प्रदर्शनबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।
सत्तारूढ दुई ठूला दलका नेताले सडकबाटै सबै समस्याको हल नहुने प्रतिक्रिया दिएका छन् भने माओवादी केन्द्रका प्रवक्ताले प्रदर्शनलाई स्वाभाविक भनेका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जेन जी पुस्ताको प्रदर्शनले दलहरूका लागि घण्टी बजाएको प्रतिक्रिया दिए ।
“यो हाम्रा लागि एउटा ब्युँझाउने घण्टी जस्तो देखेको छु । अहिलेको अवस्थामा युवाहरूले के सोचिरहेका छन्, मुलुक कता गइरहेको छ भन्नेबारे सबै दलहरू गम्भीर हुनुपर्ने आवश्यकता छ,“ उनले भने । सो पुस्ताले उठाएको भ्रष्टाचार र नातावाद कृपावादको समस्यालाई उनले पनि नकारेनन् । “नेपालको राजनीतिमा लामो समयदेखि एउटा महत्वपूर्ण मुद्दाका रूपमा यो रहँदै आएको छ । तर त्यसको निराकरण कानुन, संविधानबमोजिम हुनुपर्छ, कानुनी प्रक्रिया पूरा गरेर हुनुपर्छ,“ उनले भने ।

“त्यसकारण कानुनको अभाव वा कमीकमजोरी छन् भने त्यस्ता कानुन तत्काल बनाउनुपर्छ, तर सबै कुराको निर्णय सडकबाट गर्न सम्भव हुँदैन । सबै जिम्मेवार बन्न जरुरी छ ।“ एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ’जेन जी’ पुस्ताले अभिव्यक्ति स्वतन्त्रता खोज्नु र त्यसका लागि प्ल्याट्फर्म खोज्नुलाई अन्यथा नलिएको बताउँछन् ।
“तर उहाँहरूले पनि के बुझ्न जरुरी हुन्छ भने हरेक मुलुकका आफ्ना कानुन हुन्छन् र त्यसको पालना गर्नु देशभित्रका नागरिकहरूको पनि कर्तव्य हो, त्यो देशमा कारोबार गर्ने बहुराष्ट्रिय कम्पनी लगायतले सबै डिजिटल प्ल्याट्फर्महरूको पनि कर्तव्य हो,“ उनले भने । सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको कुरा युवा पुस्ताले बुझिदिन जरुरी रहेको ज्ञवालीको तर्क छ ।

यद्यपि नातावाद\कृपावादलाई सामान्यीकरण गर्न नमिल्ने उनी बताउँछन् । निश्चित मुद्दा वा सन्दर्भ हेरेर मात्र त्यसबारे चर्चा गर्नुपर्ने ज्ञवाली तर्क गर्छन् । “उनीहरू योग्य छन् भने मुलुकको कानुनअनुसार प्रतिस्पर्धा गरेर कुनै जिम्मेवारी लिने कुरालाई अन्यथा भन्न मिल्दैन । मुलुकको कानुनले नेताका सन्तान भएकै कारण योग्य भए पनि अवसरबाट वञ्चित हुनुपर्छ भन्दैन,“ उनले अगाडि थपे ।
“उहाँहरूले भने जस्तै अनुचित संरक्षण गरेर या प्रोत्साहन गरेर गरिएको छ भने त्यसमा ’केसवाइज’ छलफल गर्न सकिन्छ । यो केसमा अमुक नेता, परिवार, सन्तानले लाभ उठायो भन्न सकिन्छ । तर आम रूपमा त्यस्तो भन्ने स्थिति छ जस्तो मलाई लाग्दैन ।“ नेताका छोराछोरी आफन्तले कुनै अनुचित लाभ लिएको पाउँदा कानुनअनुसार दण्डित भएका पनि उनी बताउँछन् । सुन तस्करीदेखि सहकारी ठगीलगायतका काण्डमा नेताका आफन्त भएकै कारण कसैले पनि उन्मुक्ति नपाएको ज्ञवालीले दाबी गरे ।

प्रमुख प्रतिपक्षी माओओवादी केन्द्रको भने उनीहरूभन्दा केही फरक मत छ  । सो पार्टीका प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सरकारले बेठिक निर्णय गरेको र त्यसैविरुद्ध विरोध भएको प्रतिक्रिया दिए । “यसमा सरकारले पुनर्विचार गर्नुपर्छ होइन भने युवा मात्रै होइन सबै सडकमा आउँछन्,“ उनले चेतावनी दिए । नातावाद/कृपावादको हकमा त्यो भएको ठाउँमा सम्बन्धित पक्षले स्वीकार्नुपर्ने सापकोटाको तर्क छ । “त्यसलाई सम्बोधन गर्नुपर्छ,“ उनले भने