धनगढी : नेपालमा सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि प्रतिबन्ध लगाएपछि युवा पुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले घातक बल प्रयोग गर्दा काठमाण्डूमा १७ सहित कम्तिमा १९ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । -यालीका क्रममा काठमाण्डूका विभिन्न स्थानमा भएको झडपमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा १७ जना मारिएको काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले जानकारी दिए । पूर्वी सहर इटहरीमा पनि दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
आफूलाई ’जेन जी’ भनेर चिनाउने नवयुवा र विद्यार्थीहरूले अगुवाइ गरेको प्रदर्शनका क्रममा हिंसा मच्चिएपछि देशका विभिन्न सहरहरूमा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । काठमाण्डू सहित, पोखरा, बुटवल, भैरहवा र इटहरी लगायतका क्षेत्रमा सोमवार दिउँसोबाट कफ्र्यू आदेश जारी भएको छ ।
कफ्र्यूका बावजुद काठमाण्डूको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि प्रदर्शन नरोकिएको प्रहरीले बताएको छ । सोमबार बिहान माइतीघर मण्डलाबाट सुरू भएको ’जेन जी’ पुस्ताका युवा र किशोर किशोरीहरूको प्रदर्शन मध्यान्ह नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको निषेधित क्षेत्र पुगेपछि झडप सुरु भएको थियो । भ्रष्टाचार, नातावाद र बेथितिविरुद्ध नारा लगाउँदै अघि बढेका केही प्रदर्शनकारीहरू तारबार र पर्खाल तोडेर संसद् भवनको परिसरसम्म प्रवेश गरेर तोडफोड र आगजनी गरेका थिए ।
सकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनकारीहरू हताहत भएकोमा दुःख व्यक्त गर्दै “जनताको ज्यान भन्दा सरकारको निर्णय ठूलो नभएको“ प्रतिक्रिया दिए ।
सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा आफूलाई ’जेन जी’ भनेर चिनाउने नवयुवा पुस्ताले सामाजिक सञ्जालकै माध्यमबाट देशका मुख्य सहरहरूमा विरोध¥याली आह्वान गरेका थिए । काठमाण्डूस्थित विभिन्न तीन अस्पतालमा अझै १०० जना भन्दा धेरै घाइतेहरूको उपचार भइरहेको रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयका प्रवक्ता खनालले बताए । थप ४५ जना उपचारपछि अस्पतालबाट घर फर्किएको उनले जानकारी दिए ।
वीर अस्पतालसँगै रहेको राष्ट्रिय ट्रमा सेन्टरमा मृतकको सङ्ख्या सबैभन्दा धेरै छ । उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले उपचाररत रहेका केही घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
सबैभन्दा तनावग्रस्त बनेको नयाँबानेश्वर नजिकैको निजामती कर्मचारी अस्पतालमा केही शवहरू राखिएका छन् । अस्पतालका मेडिकल डाइरेक्टर दीपक पौडेलले अस्पतालमा ल्याइएका अधिकांश घाइतेहरू गोली लागेको अवस्थाका रहेको बीबीसीलाई बताए । नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा पनि केही शवहरू राखिएका छन् । ठूलो सङ्ख्यामा घाइतेहरू ल्याइएपछि अन्य अस्पतालमा रेफर गरिएको अस्पतालका सहायक प्रशासन प्रमुख अनिल अधिकारीले बताए । त्यसै गरी सिनामङ्गलस्थित केएमसी शिक्षण अस्पतालमा एक घाइतेको मृत्यु भएको उक्त अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले बताए ।