Skip to main content

जेनजी प्रदर्शनमा भएको घटनाका विषयमा छानबिन समिति बनाउने सरकारको निर्णय

Submitted by editor on
ईबिगुल संवाददाता
cabinet

काठमाडौं : जेनजी पुस्ताको प्रदर्शनमा भएको घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ। छानबिन समितिको संयोजक र सदस्यहरू भने भोलिको बैठकले तय गर्ने निर्णय भएको स्रोतको भनाइ छ। 

जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ। मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ। यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ। यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै ८ जनालाई अन्यत्र रेफर गरिएको छ । यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ।

 घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ। मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ। काठमाडौं उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसैगरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ। त्यस्तै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए।