Skip to main content

नेपाल टेलीकमको तामाजन्य कवाड प्रकरणका कागजात अख्तियारको नियन्त्रणमा

Submitted by editor on
ईबिगुल संवाददाता
लीकमको तामाजन्य कवाड

धनगढी : नेपाल टेलीकमको तामाजन्य कवाड घोटालाकाण्डका सबै कागजपत्र अख्तियारले नियन्त्रणमा लिएको छ । दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रमेश कुमार केसीले कागजपत्र नियन्त्रामा लिएको बताए ।

अख्तियारले तामाजन्य कबाड बिक्रीको सूचना, ठेक्का प्रक्रिया, सम्झौता तथा बैँकमा रकम जम्मा गरिएका भौचर लगायतका कागजपत्र आयोगको कार्यालय कञ्चनपुुरले आफ्नो नियन्त्रणमा लिएको हो । 

केही दिन अघि अख्तियारले चासो लिए लगत्तै जिल्ला प्रशासन कार्यालय कैलालीले त्यसको छानविनको थप जिम्मा नेपाल प्रहरीलाई दिएको थियो । गत विहीबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रमेश कुमार केसीले त्यस घटनाप्रति अख्तियारले मिडियामा  समाचार आएपछि त्यो अनुसन्धानको विषय भएको बताएका थिए ।

नेपाल टेलीकमको तामाजन्य विक्रिमा दुई ट्रकको मात्रै पुनः तौल गर्दा १२ हजार किलोको घोटाला भएको देखिएको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीले गठन गरेको छानविन समितिले गरेको दुई वटा ट्रकको तौलमा बिलमा उल्लेख भएको भन्दा ११ हजार ९५२ किलो बढी तामाजन्य कवाड बढी फेला परेको थियो ।

जिल्ला प्रशाशन कार्यालय कैलालीले प्रशासकीय अधिकृत शिवराज जोशीको नेतृत्वमा गठन गरेको छानविन समितिले पक्राउ परेका दुई वटा रा १ ख ३२०६ र ना ६ ख ४६० नम्बरको ट्रकको गत हप्ताको विहीबार र शुक्रबार दुुई दिन लगाएर ईलाका प्रहरी कार्यालय मालाखेतीमा तौल गरेको थियो ।

त्यो दिनको विलिङमा १५ हजार ७७९ किलो तौल देखाईएकोमा छानविन समितिले पुनः तौल गर्दा ११ हजार ९५२ किलो बढी तौल देखिएको थियो । नेपाल टेलीकमको कबाडजन्य पदार्थमा अनियमीतता भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेपछि छानविन समिति गठन भएको थियो ।

नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी विक्रि गरिएको हो । यसकार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनी बीच मिलेमतो भएको आशंका गरिएको छ ।

निर्देशनालयका अनुसार प्रबल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग कपरजन्य पदार्थको ठेक्का सम्झौता गरेको थियो ।

निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता भएको थियो ।