Skip to main content

महेन्द्रनगरमा नेपाल–भारत सीमा बैठक, लागुऔषध नियन्त्रणको प्रतिवद्धता

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाल–भारत सीमा समन्वय बैठक

महेन्द्रनगर : बुधबार महेन्द्रनगरमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र भारतको चम्पावत जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । 

बैठकमा स्थानीय स्तरमा रहेका चासोका विषय र समस्याका विषयमा छलफल भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।

‘विशेषगरी भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा व्यवस्था र अन्य विषयमा छलफल भएको छ’ प्रजिअ अधिकारीले भने । ‘लगत्तै हुने पूर्णागिरी मेला व्यवस्तित गर्ने विषयमा पनि दुबै पक्ष सहमत भएका छौं ।’

बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप र लागुऔषध नियन्त्रण लगायतका विषयमा दुबै देशका सुरक्षा अधिकारीहरू सहमत भएका छन् । भारतको चम्पावतका डीएम नवनित पाण्डेयले बैठकमा सकारात्मक छलफल भएको बताए । 

‘भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि छलफल भयो’ उनले भने । ‘२०२५ सम्म उत्तराखण्डलाई नशामुक्त गर्ने अभियान छ, त्यसमा नेपालको तर्फबाट पनि प्रतिवद्धता छ ।’ उनले लागुऔषध नियन्त्रण गर्नका लागि दुबै देश प्रतिवद्ध रहेको बताए ।

बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, कञ्चनपुरका एसपी चक्रराज जोशी, शसस्त्र प्रहरी बल कञ्चनपुरका एसपी खगेन्द्र बहादुर चन्द र कञ्चनपुर जिल्ला स्थित कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । 

भारतका तर्फबाट चम्पावतका डीएम नवनित पायडेयलगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकपछि भारतका सुरक्षा अधिकारीहरूलाई यहाँको शुलफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गराइएको छ ।