Skip to main content

बैतडीको झुलाघाट नाकामा चारमहिना अगावै लक्ष्यभन्दा बढी राजश्व असुली

Submitted by editor on
कृष्ण बिष्ट
कृष्ण बिष्ट

बैतडी : भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाट नाकामा यस वर्ष राजश्व असुलीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख राजश्व असुली गर्ने लक्ष्य तोकिएकोमा ४ महिना अगावै ५६ लाख बढी राजश्व असुली भएको हो । 

चालु आर्थिक वर्षको साउन देखि असार मसान्तसम्म्मा ५० लाख ८९ हजार राजश्व खसुली गर्ने लक्ष्य राखिएकामा चैत्रसम्ममा ५६ लाख ७६ हजार १६४ रुपैया राजश्व सकंलन भइसकेको झुलाघाट भन्सार कार्यालयका प्रमुख अनिल कुमार झाले जानकारी दिए । 

विगतका वर्षहरुमा राजश्व असुलीमा व्यापक गिरावट भएको भएपनि यस वर्ष भने राजश्व असुलीमा व्यापक वृद्धि भएको हो । गत आर्थिक वर्ष २०७९÷८० मा ३८ लाख राजश्व खसुली गर्ने लक्ष्य लिइएकोमा ३५ लाख ३८ हजार रुपैयामा मात्रै राजश्व असुली भएको थियो । 

यस वर्ष भने लक्षभन्दा ४ महिनाअघि नै लक्ष्यभन्दा बढी राजश्व हासिल गरिएको भन्सार कार्यालय झुलाघाटले जनाएको छ । कोरोनाकालमा सुस्ताएको झुलाघाट नाका पछिल्ला वर्षहरुमा तङ्ग्रीएको भन्सार कार्यालयका प्रमुख  झाले बताए । ‘नेपालपट्टी पनि विभिन्न मेलापर्वहरुमा सरसामान भित्रियो, विगतका वर्षहरुभन्दा बजार क्षेत्रमा पनि चहलपहल बढेको छ’ झाले भने । 

यसैगरी जिल्ला प्रहरी कार्यालय बैतडीले पनि सीमा नाकामा कडाई गरेपछि राजश्व असुलीमा वृद्धि भइरहेको हो । एक महिनाको अवधिमा १० लाखबढीको भन्सार छलीका सरसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए । 

‘राजश्व छलीका सरसामानहरु व्यापक रुपमा समातिएको छ, दशरथचन्द नगरपालिका क्षेत्र र तल्लो स्वराड क्षेत्रमा पनि निगरानी बढाएका छौँ,’ प्रहरी नायव उपरिक्षक गिरीले भने ।