Skip to main content

‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा यसरी उर्लिए विद्यार्थीहरु (फोटोफिचर)

Submitted by editor on
ईबिगुल संवाददाता
६० हजार  विद्यार्थी

धनगढी : ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा ६० हजार  विद्यार्थी जोडिएका छन । विद्यालयस्तरबाटै सरसफाईमा फडको मार्न सकिने योजना अनुसार उपमहानगरपालिकाले यो अभियान सञ्चालन गरेको थियो । 

धनगढीका ६८ सामुदायिक र ११० निजी विद्यालयसहित क्याम्पसमा अध्ययनरत करिव ६० हजार विद्यार्थी मार्फत घरघरमा सरसफाइ सम्बन्धी अवधारणा पुगाउने उपमहानगरको उद्देश्य छ ।

विद्यालयहरूले सरसफाइ अभियानमा सहभागी हुँदा सफा धनगढी अभियान सफल हुने अपेक्षा गरिएको सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले बताए। ‘धनगढी उपमहानगरपालिकाले चलाएको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा धनगढीका ६८ सामुदायिक र ११० निजी विद्यालय जोडिएका छन’ सरसफाइ शाखा प्रमुख अवस्थीले भने । 

उनले धनगढीलाई देशकै सफा नगर बनाउने अभियानमा करिव ६० हजार विद्यार्थीको प्रत्यक्ष सहभागिता देखिएको बताए । ‘जसले गर्दा फोहरमैला व्यवस्थापन गर्न सहज हुने भएको छ’  अवस्थीले भने । धनगढीका विद्यालय र कलेजमा यो वर्ष करिव ६० हजार विद्यार्थी रहेको उपमहानगरपालिकाले जनाएको छ । 

विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरको आग्रहमा विद्यालय र कलेजबाट सामुदायिक सरसफाइ अभियानमा लगाउन थालिएको छ । विद्यार्थीहरुले स्कुल वरपरको ५ सय मिटर परिधिमा सरसफाई गरिरहेका छन । 

विद्यार्थीहरूलाई सामुदायिक सरसफाइमा लगाउँदा सरसफाइ सम्बन्धी सकारात्क सन्देश परिवार र समुदायमा जाने कैलाली मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले बताए । ‘उपमहानगरपालिकाले चलाएको सरसफाई अभियान एकदम राम्रो छ । सरसफाइ अभियानमा विद्यार्थीको सहभागिताले वयस्कहरूमा पनि जथाभावी फोहर गर्नु हुन्न भन्ने मानसिकता निर्माण गर्न सहयोग पुगेको छ’ उनले भने ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले समुदायमा गएर सरसफाइ गर्दा त्यसको व्यक्ति र समुदायमा सकारात्मक सन्देश गएको पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए । ‘अहिले विद्यालय रहेको स्थान वरपर समुदाय पनि सरसफाइ गर्दा त्यहाँका स्थानीयले पनि सरसफाइ अभियानमा भाग लिने गरेको देखियो । यो अभियानले सबैमा सकारात्मक सन्देश दिन सहयोग पुगाएको छ’ ओझाले भने ।

उपमहानगरपालिकाले विद्यार्थीबाट समुदाय र परिवारले सरसफाइ सम्बन्धी व्यवहार सिकेर हरेक दिन अभ्यासमा ल्याउन भन्ने चाहेको छ । विद्यार्थीका सरसफाइ सम्बन्धी सकारात्मक प्रयास र अभ्यासबाट हरेक व्यक्तिको व्यवहारमा परिवर्तन आओस् भन्ने अपेक्षा समेत गरिएको छ । 

हरेक घरमा सरसफाइ सम्बन्धी सन्देश पुगाउन विद्यालय र विद्यार्थीको योगदान महत्वपूर्ण हुने सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले बताए । सरकारी र निजी विद्यालयले मात्रै नभएर धनगढीमा रहेका ट्रेनिङ इस्टिच्युट र व्रिज कोर्ष पढाउने संस्थाहरूले समेत सरसफाइ अभिमुखीकरण र अभियान चलाउने गरेका छन् ।