Skip to main content

विद्यालयको दिवाखाजामा स्थानीय उत्पादन, कृषकलाई राहत

Submitted by editor on
अछामका ५१७ विद्यालयमा ५७ सहकारी मार्फत ३३ हजार ५३१ विद्यार्थीहरुले दिवाखाजा पाईरहेका छन् । यस आर्थिक वर्षमा जिल्लामा दिवाखाजा कार्यक्रमका लागी १३ करोड १२ लाख १७हजार ५७० बजेट रहेको छ ।
गीता कुँवर
कृषकलाई राहत

अछाम : अछामको साँफेबगर नगरपालिका १२ खप्तडका धनबहादुर कडायत व्यवसायीक रुपमा कृषि पेशामा आबद्ध छन् । उनी तरकारी खेतीसंगसंगै बाख्रा  पालन व्यवसाय पनि गर्छन् । उनले घरपरिवारको सबै खर्च यहि व्यवसायबाट चलाउछन् । उनले सिजनमा ३० देखि ४० क्विन्टल आलु फलाउछन् । 

अदुवा १५ देखि २० क्विन्टल फल्छ । अन्य तरकारीको उत्पादन पनि उस्तै छ । कृषिउपजले बजार नपाउने चिन्तापनि उस्तै थियो कडायतलाई । खप्तड साँफेबगर नगरपालिकाको विकट वडा पर्छ । खप्तडमा आलु र अदुवाकापकेट क्षेत्र मानिन्छ । 

गएको वर्ष २५ क्विन्टल अदुवाले बजार नपाउदा त्यसै खेर गएको उनी सम्झिन्छन् । मेहनती र अगुवा कृषकको रुपमा परिचित कडायतलाई आजभोली कृषिउपजले बजार पाउदैन भन्ने चिन्ता छैन । कडायतले उत्पादन गरेका तरकारी अन्य कृषिउपज आजभोली गाउँकै विद्यालयहरुमा खपत हुन्छ । 

साँफेबगर नगरपालिका ३ की लक्ष्मी कडायतलाई तरकारीको डोको बोकेर बजार बजार डुल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । लक्ष्मीले कहिले लागतभन्दा कम मुल्यमा बिक्री गरिन् त कहिले मुल्य नै नपाउदा तरकारीको डोको घर फर्काउथिन् । उनले ४ रोपनीमा मौसमी बेमौसमी तरकारी खेती गर्छिन् । 

उनले व्यवसायीक रुपमा तरकारी खेतीगर्न थालेको ८ वर्ष भयो । लक्ष्मी लगायत अन्य कृषकहरुले फलाएको तरकारी आजभोली घरबाटै बिक्री हुन्छ । ‘तरकारी बजार पाउदैन भन्ने चिन्ता नै छैन । उत्पादन अझै बढाउने सोच गरेको छु, घरमै तरकारी बिक्री हुन्छ’ उनले भनिन ।

साँफेबगरकै जयसरा कुँवर पनि बिगत १७ वर्ष देखि तरकारी खेतीगर्दै आईरहेकी छिन् । दुई छोराछोरीको पढाई खर्च यसैबाट चल्छ । उनले फलाएको तरकारी साफे बजारको प्रत्येक पसलमा पुग्छ । जयसराले पनि पसल पसल गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । उनीआजभोली तरकारी बोकेर सिधै हातेमालो सहकारी पुग्छिन् । 

विद्यालयमा दिवाखाजाका लागि जिम्मेवारी पाएका सहकारी संस्थाहरु कृषकहरुको घर घरमै पुगेर कृषी उपजहरु खरिद गर्छन् । स्थानीय कृषिउपजमा आधारित दिवाखाजा कार्यक्रम सञ्चालन भएपछि कृषकहरुलाई राहत भएको छ ।

कृषिउपजले उचित मुल्य पाउनुका साथै बजार डुल्नुपर्ने अवस्थाको अन्त्य भएपछि कृषकहरु हौसिएका छन् । साँफेबगर नगरपालिका ४ मा रहेको हातेमालो बहुउद्देश्य सहकारी संस्थाले साँफेबगर नगरपालिकाभित्रका २० वटा विद्यालयमा दिवाखाजा आपुर्ति गर्दै आईरहेको छ । 
चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रमले किसानहरुलाई उर्जा थपेको बताए । गाउँपालिकाले स्थानीय रैथाने बाली संरक्षण प्रवद्र्धन अभियानमा लागेको बताए । पालिकाले बिगतवर्षदेखि नै कृषिमा प्राथमिकमा दिदै आएको छ । 

अछामका ५१७ विद्यालयमा ५७ सहकारी मार्फत ३३ हजार ५३१ विद्यार्थीहरुले दिवाखाजा पाईरहेका छन् । यस आर्थिक वर्षमा जिल्लामा दिवाखाजा कार्यक्रमका लागी १३ करोड १२ लाख १७हजार ५७० बजेट रहेको छ ।