धनगढी : १२ वर्ष अघि उपचारका लागि अस्पताल लैजाने बेला हतकडी सहित भागेका कैलालीको गोदावरी नगरपालिका ओलानीका देबसिह ठकुरी भनिने दिपक बहादुर सिह पक्राउ परेका छन ।
उनलाई कैलाली प्रहरीको टोलीले कञ्चनपुरको सीमा क्षेत्र गड्डाचौकीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै कैलाली प्रहरीको ५ जनाको टोलीले नेपाल भारत सीमा नजिक गड्डाचौकीबाट पक्राउ गरिएको जनाएको छ ।
प्रहरीले नेपाली सरहदमा पक्राउ परेको बताएपनि, कर्तव्य ज्यान मुद्दामा सर्वश्व सहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बेला भागेका उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याईएको बताईएको छ ।
ठकुरी १२ वर्षअघि कैलाली कारागारबाट फरार भएका थिए । नेपालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जेल सजाय भोगिरहेका उनले भारतमा समेत लाखौं रकम चोरीको आपराधिक गतिविधिमा संलग्न भएको खुलेको छ । ठकुरी माथि नेपालमा ज्यान मुद्दा, अपहरण, हातहतियार तथा खरखजाना लगायतका मुद्धा थिए । गोदावरी नगरपालिका ११ ओलानीका ठकुरी बैंक लुटपाट तथा सुनचाँदी पसल लुटपाट गरेको घट्नामा भारतको मुम्बईमा पनि यस अगाडि पक्राउ परेका प्रहरीले जनाएको छ ।
देव सिंह ठकुरी भनिने दिपकबहादुर सिंह उपर दायर भएका मुद्दाहरु
१. जिल्ला कैलाली गोदावरी गा.वि.स. ०६ बस्ने कृत सुनारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह, तेज बहादुर बडैला र मोहन सिंह बडैला भएको वारदात मिति २०६२।०६।०२ गते जाहेरवालाको छोरा मान बहादुर सुनारलाई कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दा– आ.व.२०६२।०६३ साल, मुद्दा नं. ३० (जि.स.व.का. बाट मिसिल फिर्ता भई पेश हुन बांकी)
२. जिल्ला कैलाली गोदावरी ७ बस्ने जनक बहादुर साउँदको जाहेरीले वादी नेपाल सरकार भएको वारदात मिति २०६४।११।२४ गते राती जाहेर वालाको भतिजा मृतक भक्त बहादुर भन्ने बमबहादुर साउदलाई गोली प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई मिति २०६७।०८।२७ गतेको फैसलाले मिति २०६६।०३।११ गते देखी लागु हुने गरी सर्वस्व सहित जन्मकैद फैसला भई कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कैलालीबाट फरार। (आ.व. २०६४।०६५ साल, मुद्दा नं. १८२)।
३. जिल्ला कैलाली धनगढी १ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले मिति २०६५।०३।१० गते, अपहरण गरी शरिर बन्धक बनाएको अपहरण तथा शरिर बन्धक मुद्दा– आ.व.२०६५÷०६६ साल मुद्दा नं. ३५०
४. प्र.नि. धन बहादुर कठायतको जाहेरीले मिति २०६६।०३।१० गते हातहतियार खरखजनामा पक्राउ परी मिति २०६६।०४।०५ गते अनुसन्धान पश्चात कारागार चलान भएकोमा १ बर्ष कैद सजाय फैसला। (आ.व.२०६५÷०६६ साल मुद्दा नं. ३४९)
५. मिति २०६९।०४।२२ गते निज प्रतिबादी देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह कैलाली कारागारबाट भागी फरार भएको कैदी भागे भगाएको मुद्दामा देव सिंह ठकुरी भन्ने दिपकबहादुर सिंह, प्र.ना.नि. लोक बहादुर बोहरा, प्र.ह. गणेश चन्द र प्र.ज. दिल बहादुर टमटा उपर मुद्दा दायर भई सम्मानित कैलाली जिल्ला अदालतमा मुल्तबीमा रहेको । श्रोत : जिप्रका कैलाली