Skip to main content

धनगढीमा अस्पताल बनाउने भन्दै झुक्याएर चर्च खोल्ने तीन जना पक्राउ

Submitted by editor on
स्थानीयको उजुरीका आधारमा स्याङ्जाका पुकार विक, सोलुखुम्बुका प्रशान्त राई भनिने पे्रम दोर्जी राई र धनगढीका वीरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।
ईबिगुल संवाददाता
तीन जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार विक, सोलुखुम्बुका प्रशान्त राई भनिने पे्रम दोर्जी राई र धनगढीका वीरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको थियो । चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिकसमेत  रहेका थिए ।

चर्चमा हरेक शनिवार संगती लाग्न थालेपछि स्थानीयले बिरोध गरेपछि अस्पताल भन्दै चर्च खुलेको रहस्य बाहिर आएको हो । असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याइएको हो ।

छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान भवन बनाएर त्यसमा संगती लाग्न थालेपछि स्थानीयले जानकारी पाएका थिए । लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गाधनी प्रभाकर भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने शर्तमा १५ वर्षका लागि साढे ४ कठ्ठा जग्गा भाडामा लिएको थियो ।

१५ वर्षपछि भवन भण्डारीकै हुने सर्तमा जग्गा भाडामा लिएर त्यसमा भवन बनाईको हो । तर, लेट मेइनले करोडौं लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडा लिनेगरी चर्चलाई भवन प्रयोग गर्न दिएको छ । 

लेट मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईले दाबी गरेको थिए ।

सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन् । मंगलवार स्थानीयको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका थिए । 

सो टोलीमा जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेत थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारीले छानबिन नहुँदासम्म चर्चमा कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका थिए ।